भोटेकोशी बाढीको २० अर्ब ३३ करोड बीमा दाबीमध्ये तीन महिनामा ८६ करोड मात्र भुक्तानी
२ हजार ५५६ दाबीमध्ये २७६ मात्र फर्छ्यौट भएका छन्, हिमालयन एभरेस्टको ६ अर्ब ७२ करोडको दाबी एउटै फर्छ्यौट भएको छैन ।
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको हिमनदी बाढीबाट क्षति भएको सम्पत्तिबापत बीमा कम्पनीहरूमा २० अर्ब ३३ करोड १५ लाख रुपैयाँ दाबी परेको छ । तर बाढी गएको करिब तीन महिनासम्म बीमितले ८५ करोड ९८ लाख रुपैयाँ मात्र भुक्तानी पाएका छन्, जुन कुल दाबी रकमको करिब ४.२ प्रतिशत हो ।
नेपाल बीमक संघले सार्वजनिक गरेको मंसिर ३ गतेसम्मको विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूमा कुल २ हजार ५५६ दाबी दर्ता भएका छन् । तीमध्ये २७६ दाबी (१०.७९ प्रतिशत) मात्र फर्छ्यौट भएका छन् भने २ हजार २४१ दाबी फर्छ्यौट हुन बाँकी छन् । भुक्तानी भएको रकममा अग्रिम भुक्तानी पनि समावेश छ ।
कुन बीमामा कति दाबी ?
सबैभन्दा बढी दाबी सम्पत्ति बीमातर्फ परेको छ, जहाँ ५५२ दाबीमा करिब ९ अर्ब ४० करोड रुपैयाँ माग गरिएको छ । इन्जिनियरिङ बीमातर्फ करिब ३ अर्ब ८३ करोड, मोटर बीमातर्फ करिब ३ अर्ब १० करोड र सामुद्रिक बीमातर्फ करिब २ अर्ब ४० करोड रुपैयाँ दाबी परेको छ ।
हिमालयन एभरेस्टमा सबैभन्दा बढी रकम
कम्पनीगत रूपमा सबैभन्दा बढी दाबी रकम हिमालयन एभरेस्ट इन्स्योरेन्समा परेको छ । यसमा २२४ दाबीबाट ६ अर्ब ७२ करोड रुपैयाँ माग गरिएको छ, तर हालसम्म एउटै दाबी फर्छ्यौट भएको छैन । दोस्रो स्थानमा रहेको सानिमा जीआईसी इन्स्योरेन्समा २४५ दाबीबाट ३ अर्ब ६१ करोड रुपैयाँ दाबी परेको छ, जसमध्ये ५३ दाबी फर्छ्यौट भएका छन् ।
सबैभन्दा धेरै संख्यामा दाबी भने शिखर इन्स्योरेन्समा परेका छन् । यसमा ४७१ दाबीबाट २ अर्ब ५३ करोड रुपैयाँ माग गरिएको छ । शिखरले १२१ दाबी फर्छ्यौट गरी ३७ करोड ८३ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ ।
किन ढिलाइ ?
बीमितबाट पर्याप्त कागजात प्राप्त नहुनु र स्थलगत निरीक्षण प्रतिवेदन आउन बाँकी रहनुले क्षतिपूर्ति दिन ढिलाइ भएको बताइएको छ । जलविद्युत् आयोजनाका संरचना जटिल हुने र क्षति मूल्याङ्कनमा विदेशी पुनर्बीमकका मूल्याङ्कनकर्तासमेत सहभागी हुनुपर्ने भएकाले पनि समय लागेको छ ।
सुरुमा २५ अर्ब ८७ करोडको दाबी
बाढी गएको केही दिनमै भदौ १५ गतेसम्म बीमा कम्पनीहरूमा २५ अर्ब ८७ करोड रुपैयाँको प्रारम्भिक दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको थियो । पछि यो रकम घटेको थियो । प्राधिकरणका अनुसार असोज ३० सम्म २० अर्ब ९० करोड ४९ लाख रुपैयाँको दाबीमध्ये ८२ करोड १३ लाख रुपैयाँ भुक्तानी भएको थियो ।
बाढीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बीमा दाबी भुक्तानी सरल र छिटो बनाउन निर्देशन दिएका थिए भने बीमा कम्पनीहरूले क्षतिको अग्रिम भुक्तानी दिने सहमति गरेका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.