मुक्तिनाथ विकास बैंकको लाभांश १८.२० बाट ७.२५ प्रतिशतमा झर्यो, छिमेक लघुवित्तले दिने २५ प्रतिशत

मिथिला लघुवित्तले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ, लक्ष्मी सनराइजको लाभांश पाउन आज अन्तिम दिन ।

Artha Kendra Artha Kendra
शुक्रबार, ११ मंसिर २०८३, १०:४६ AM
—
फन्ट
मुक्तिनाथ विकास बैंकको लाभांश १८.२० बाट ७.२५ प्रतिशतमा झर्यो, छिमेक लघुवित्तले दिने २५ प्रतिशत

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शुक्रबार आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ भने छिमेक लघुवित्तले प्रस्तावित लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । मिथिला लघुवित्तले पनि लाभांश प्रस्ताव गरेको छ भने लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्न शुक्रबार अन्तिम दिन हो ।

मुक्तिनाथ विकास बैंक : ७.२५ प्रतिशत नगद मात्र

मुक्तिनाथ विकास बैंक : बैंकले हाल कायम चुक्ता पुँजीको ७.२५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ । मंसिर १० गते बसेको सञ्चालक समितिको ३९२ औँ बैठकले यस वर्ष बोनस सेयर नदिई नगद लाभांश मात्र दिने निर्णय गरेको हो ।

बैंकको चुक्ता पुँजी करिब ८ अर्ब रुपैयाँ छ । यसअनुसार नगद लाभांशबापत करिब ५८ करोड रुपैयाँ वितरण हुनेछ । गत आर्थिक वर्ष २०८१/८२ मा बैंकले १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद गरी कुल १८.२० प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३४९ रुपैयाँमा बन्द भएको थियो ।

छिमेक लघुवित्त : २५ प्रतिशत, पुस ६ मा साधारण सभा

छिमेक लघुवित्त : लघुवित्तले पुस ६ गते सोमबार मकवानपुरको हेटौँडामा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ११.९६३१ प्रतिशत बोनस सेयर र १३.०३६९ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २५ प्रतिशत लाभांश पारित गर्नेछ ।

लघुवित्तको चुक्ता पुँजी ३ अर्ब ६१ करोड ७३ लाख रुपैयाँ छ । यसअनुसार करिब ४३ करोड २७ लाख रुपैयाँ बराबरको बोनस सेयर र करिब ४७ करोड १६ लाख रुपैयाँ नगद वितरण हुनेछ । गत वर्ष पनि लघुवित्तले १२.५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिएको थियो ।

मिथिला लघुवित्त : १० प्रतिशत

मिथिला लघुवित्त : लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । गत वर्ष लघुवित्तले १५ प्रतिशत लाभांश दिएको थियो ।

लक्ष्मी सनराइज : लाभांश पाउन आज अन्तिम दिन

लक्ष्मी सनराइज बैंक : बैंकले मंसिर १४ गते सोमबार बुक क्लोज गर्ने भएकाले शुक्रबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । बैंकले मंसिर २५ गते शुक्रबार काठमाडौंमा २६ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ । गत वर्ष बैंकले १०.५३ प्रतिशत लाभांश दिएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.