हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १८ देखि सर्वसाधारणलाई
न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने आईपीओ छिटोमा मंसिर २३ गते बन्द हुनेछ ।
काठमाडौं । दोलखामा कुल २५.५ मेगावाटका दुई जलविद्युत आयोजना सञ्चालन गरिरहेको हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गते शुक्रबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३४ लाख ६४ हजार ५०० कित्ता साधारण सेयर अर्थात् ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ ।
आईपीओ छिटोमा मंसिर २३ गते बुधबार बन्द हुनेछ । तोकिएको अवधिमा पर्याप्त आवेदन नपरे बिक्री अवधि ढिलोमा पुस ३ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि अधिकतम १० हजार कित्ता (१० लाख रुपैयाँ) सम्म आवेदन दिन सक्नेछन् ।
आवेदन सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा वा सीडीएस एन्ड क्लियरिङको मेरो सेयरमार्फत दिन सकिन्छ । सिटिजन्स क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक हो । कम्पनीको विवरणपत्र नेपाल धितोपत्र बोर्डको वेबसाइटमा उपलब्ध छ ।
कुन समूहलाई कति सेयर ?
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । त्यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित दोलखाको बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीयका लागि कात्तिक ११ गतेदेखि बिक्री खुला गरिएको थियो, जुन मंसिर १ गते बन्द भयो ।
बाँकी २५ प्रतिशत अर्थात् ४२ लाख २५ हजार कित्तामध्ये १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो । कम्पनीको सूचनाअनुसार मागभन्दा बढी आवेदन परेपछि यो कोटा कात्तिक १६ गते नै बन्द गरिएको थियो ।
त्यस्तै ५ प्रतिशत अर्थात् २ लाख ११ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख २६ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । यी समूहका लागि छुट्याएपछि बाँकी ३४ लाख ६४ हजार ५०० कित्ता अब सर्वसाधारणलाई बिक्री गरिँदैछ ।
स्थानीय, वैदेशिक रोजगारी वा कर्मचारी कोटामा आवेदन दिइसकेकाले सर्वसाधारणको कोटामा आवेदन दिन पाउँदैनन् । संस्थापक सेयरधनी र उनीहरूका एकाघरका सदस्यले पनि आईपीओमा आवेदन दिन पाउँदैनन् ।
दोलखामा दुई आयोजना सञ्चालनमा
२०७१ सालमा प्राइभेट लिमिटेडका रूपमा दर्ता भएको कम्पनी २०७८ सालमा पब्लिक लिमिटेडमा परिणत भएको हो । कम्पनीले दोलखामा २० मेगावाटको साँगु खोला र ५.५ मेगावाटको साँगु खोला–१ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । साँगु खोला–१ ले २०८२ साउन ८ गते र साँगु खोलाले २०८२ असोज २५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेका हुन् ।
विवरणपत्रअनुसार २० मेगावाटको आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख रुपैयाँ (प्रतिमेगावाट १८ करोड २५ लाख) र ५.५ मेगावाटको आयोजनाको लागत १ अर्ब १५ करोड ४ लाख रुपैयाँ (प्रतिमेगावाट २० करोड ९१ लाख) परेको छ । २० मेगावाटको आयोजनाको लगानी फिर्ता अवधि साधारण हिसाबमा ६.०९ वर्ष र डिस्काउन्टेड हिसाबमा ९.०८ वर्ष तथा ५.५ मेगावाटको आयोजनाको क्रमशः ६.२९ र ९.५६ वर्ष अनुमान गरिएको छ ।
दुवै आयोजनाको बिजुली नेपाल विद्युत प्राधिकरणले किन्ने सम्झौता भएको छ । पहिलो वर्ष सुक्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दर तोकिएको छ, जुन वार्षिक ३ प्रतिशतका दरले आठ पटकसम्म बढ्नेछ । दुवै आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २१११ सालसम्म बहाल रहनेछ, त्यसपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गर्नुपर्नेछ ।
वित्तीय अवस्था
गत आर्थिक वर्ष १७ करोड नाफा
विवरणपत्रमा समावेश लेखापरीक्षित विवरणअनुसार दुवै आयोजना सञ्चालनमा आएको आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ५७ करोड ९४ लाख रुपैयाँ आम्दानी गरी १७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५.४८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११५.०५ रुपैयाँ छ । त्यसअघिका दुई आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा प्रतिसेयर नेटवर्थ क्रमशः ९९.७३ र ९९.६८ रुपैयाँ थियो ।
असार मसान्तमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ८५ लाख र जगेडा कोष १६ करोड ५२ लाख रुपैयाँ थियो । कम्पनीमाथि दीर्घकालीन ऋण २ अर्ब ९३ करोड ८६ लाख र अल्पकालीन ऋण ७१ करोड ३० लाख गरी कुल ३ अर्ब ६५ करोड १६ लाख रुपैयाँ ऋण छ । गत वर्ष कम्पनीको वित्तीय लागत २० करोड २३ लाख रुपैयाँ थियो ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट विद्यमान सेयरधनीलाई चुक्ता पुँजीको १०.५२६३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गरिसकेको छ ।
तीन वर्षको प्रक्षेपण
कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ मा ८९ करोड ८० लाख रुपैयाँ आम्दानी र ३० करोड ७१ लाख रुपैयाँ खुद नाफा हुने प्रक्षेपण गरेको छ । आईपीओपछि चुक्ता पुँजी १ अर्ब ६९ करोड पुग्दा यो वर्ष प्रतिसेयर आम्दानी १८.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२१.११ रुपैयाँ हुने अनुमान छ ।
त्यस्तै आर्थिक वर्ष २०८४/८५ मा ९२ करोड ४३ लाख आम्दानी र ३८ करोड ७९ लाख नाफा (ईपीएस २२.९५ रुपैयाँ) तथा २०८५/८६ मा ९५ करोड ५ लाख आम्दानी र ४४ करोड १० लाख नाफा (ईपीएस २६.१० रुपैयाँ) हुने प्रक्षेपण छ । सो अवधिमा प्रतिसेयर नेटवर्थ क्रमशः १३२.०६ र १४६.१६ रुपैयाँ पुग्ने अनुमान छ ।
आईपीओको रकम ऋण तिर्न
आईपीओबाट उठ्ने कुल ५९ करोड १५ लाख रुपैयाँमध्ये ४७ करोड ७६ लाख ९९ हजार रुपैयाँ आयोजना निर्माणका लागि सिटिजन्स बैंकबाट आईपीओ अगेन्स्ट लिएको कर्जा तथा ब्याज तिर्न प्रयोग गरिने विवरणपत्रमा उल्लेख छ । बाँकी ११ करोड ३८ लाख १ हजार रुपैयाँ ठेकेदारलाई बाँकी रिटेन्सन रकम भुक्तानी गर्न खर्च गरिनेछ ।
सर्वसाधारणका लागि छुट्याइएको सेयर पूर्ण रूपमा नबिकेमा प्रभु क्यापिटलले प्रत्याभूति (अन्डरराइटिङ) सेवा दिने व्यवस्था गरिएको छ ।
रेटिङ र स्वामित्व
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कम्पनीलाई ‘[आईसीआरएएनपी–आईआर] डबल बी प्लस’ इस्युअर रेटिङ दिएको छ । यो रेटिङले समयमै वित्तीय दायित्व भुक्तानी गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
आईपीओपछि कम्पनीको ६५ प्रतिशत सेयर संस्थापक र ३५ प्रतिशत सर्वसाधारण समूहमा रहनेछ । कम्पनीमा हाल ४३ जना संस्थापक सेयरधनी छन् । निष्कासनअघिको चुक्ता पुँजीमा सबैभन्दा ठूलो हिस्सा विशिष्टीकृत लगानी कोष अवसर इक्विटी डाइभर्सिफाइड फन्डको ४३.६१ प्रतिशत छ भने सञ्चालक समितिका अध्यक्ष हिमाल गुरुङको १९.५९ प्रतिशत छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.