११ दिनमै पुनरागमन : जेन्सन हुवाङ फेरि एनभिडियाको प्रेसिडेन्ट तथा सीईओ

बोर्डले सर्वसम्मतिले पुनर्बहाली गर्दै उनको पुनरागमनबाट राष्ट्रिय सुरक्षामा जोखिम नरहेको जनाएको छ ।

Artha Kendra Artha Kendra
सोमबार, ७ मंसिर २०८३, ८:१५ PM
—
फन्ट
११ दिनमै पुनरागमन : जेन्सन हुवाङ फेरि एनभिडियाको प्रेसिडेन्ट तथा सीईओ

काठमाडौं । एआई चिपको प्रमुख आपूर्तिकर्ता अमेरिकी कम्पनी एनभिडियाको सञ्चालक समिति (बोर्ड) ले सहसंस्थापक जेन्सन हुवाङलाई फेरि प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक पदमा पुनर्बहाली गरेको छ । राजीनामा दिएको ११ दिनमै उनी कम्पनीको नेतृत्वमा फर्किएका हुन् ।

कम्पनीले सोमबार (मंसिर ७) जारी गरेको विज्ञप्तिअनुसार बोर्डले हुवाङसँग पटक–पटक छलफल र भेटवार्ता गरेपछि सर्वसम्मतिले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो । निर्णय तत्कालै लागू भएको छ ।

‘राष्ट्रिय सुरक्षामा जोखिम छैन’

बोर्डले हुवाङको इमानदारी र नेतृत्व क्षमताप्रति आफू सन्तुष्ट भएको जनाएको छ । निर्णयअघि अमेरिकी सरकारका उच्च तहबाट राय लिइएको र त्यसका आधारमा हुवाङको पुनर्बहालीले राष्ट्रिय सुरक्षामा कुनै जोखिम नपुर्‍याउने कुरामा आफू विश्वस्त भएको बोर्डले उल्लेख गरेको छ ।

बोर्ड अध्यक्ष हार्वे सी. जोन्सले जेन्सन नै एनभिडियाको नेतृत्वका लागि उपयुक्त व्यक्ति भएको र उनको पुनरागमन सेयरधनी, कर्मचारी, साझेदार र ग्राहक सबैको हितमा रहेको बताएका छन् । हुवाङले कम्पनीमा फर्किन पाउँदा सम्मानित महसुस गरेको र विनम्रता तथा नयाँ प्रतिबद्धताका साथ जिम्मेवारी सम्हाल्ने बताएका छन् ।

क्रेस सीएफओमै, जोन्स अध्यक्षमै

हुवाङको राजीनामापछि कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेकी कोलेट क्रेस प्रमुख वित्त अधिकृत (सीएफओ) कै रूपमा कायम रहनेछिन् । हार्वे जोन्स बोर्ड अध्यक्षमै रहनेछन् ।

अनुसन्धान भने जारी रहने

हुवाङ विदेशी गुप्तचर प्रयासको निशानामा परेको रिपोर्ट आएपछि बोर्डले स्वतन्त्र सञ्चालक मात्र रहेको समिति बनाएर स्वतन्त्र कानुनी सल्लाहकारमार्फत अनुसन्धान सुरु गरेको थियो । उक्त अनुसन्धान टुंगोसम्म पुग्ने र हुवाङले त्यसमा पूर्ण सहयोग गर्ने कम्पनीले जनाएको छ ।

बोर्डले व्यापारसम्बन्धी अनुपालना र राष्ट्रिय सुरक्षा जोखिमको निगरानी गर्न स्वतन्त्र सञ्चालक मात्र रहेको राष्ट्रिय सुरक्षा तथा निर्यात नियन्त्रण समिति पनि गठन गरेको छ । कम्पनीभर अनुपालनको निगरानी गर्न नयाँ प्रमुख अनुपालन अधिकृत (चिफ कम्प्लायन्स अफिसर) को खोजी सुरु गरिएको र सरकारी अनुसन्धान तथा जिज्ञासामा सहयोग जारी राख्ने पनि कम्पनीले जनाएको छ ।

११ दिनमा के–के भयो ?

हुवाङले कात्तिक २६ (नोभेम्बर १२) मा प्रेसिडेन्ट, सीईओ र सञ्चालक पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएका थिए । त्यसलगत्तै सीएफओ क्रेसलाई कार्यवाहक सीईओ र जोन्सलाई कम्पनीको पहिलो बोर्ड अध्यक्ष नियुक्त गरिएको थियो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकी अधिकारीहरूले चीनको गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका गरेकी एक चिनियाँ व्यवसायी महिलासँग हुवाङको निकट सम्बन्ध रहेको रिपोर्ट बाहिरिएपछि बोर्डले छानबिन सुरु गरेको थियो । चीनको विदेश मन्त्रालयले भने जासुसीको आरोपलाई आधारहीन भन्दै अस्वीकार गरेको थियो ।

राजीनामापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतले हुवाङको पुनरागमनको पक्षमा आवाज उठाएका थिए । तर मंसिर १ (नोभेम्बर १७) मा कम्पनीको त्रैमासिक नतिजासम्बन्धी कल सुरु गर्दै अध्यक्ष जोन्सले बोर्डले सर्वसम्मतिले राजीनामा स्वीकार गरेको र हुवाङलाई पुनर्बहाली गर्ने योजना नरहेको बताएका थिए । एक साताभित्रै बोर्डले आफ्नो अडान बदलेको हो ।

हुवाङले सन् १९९३ मा एनभिडियाको सह-स्थापना गरेका थिए र ३३ वर्षदेखि कम्पनीको नेतृत्व गर्दै आएका थिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.