एक साताभित्र सुन तोलामा २६ हजार ३०० रुपैयाँ सस्तियो, रेकर्ड मूल्यभन्दा ९३ हजार ९०० तल

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक २७ गते प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ रहेको सुन मंसिर ४ गते २ लाख ४५ हजार ४०० रुपैयाँमा झरेको छ । चाँदी पनि तोलामा ५९० रुपैयाँ सस्तिएको छ ।

Artha Kendra Artha Kendra
शनिबार, ५ मंसिर २०८३, २:४२ PM
—
फन्ट
एक साताभित्र सुन तोलामा २६ हजार ३०० रुपैयाँ सस्तियो, रेकर्ड मूल्यभन्दा ९३ हजार ९०० तल

काठमाडौं । पछिल्लो एक साताभित्र नेपाली बजारमा सुनको मूल्य प्रतितोला २६ हजार ३०० रुपैयाँ अर्थात् ९.६८ प्रतिशतले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक २७ गते शुक्रबार प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुन मंसिर ४ गते शुक्रबार २ लाख ४५ हजार ४०० रुपैयाँमा झरेको छ ।

साताका सबै छ कारोबार दिन सुनको मूल्य घटेको छ । सबैभन्दा ठूलो गिरावट साताको अन्तिम कारोबार दिन शुक्रबार आएको हो, जुन दिन एकै दिन तोलामा १२ हजार २०० रुपैयाँ (४.७४ प्रतिशत) घट्यो ।

दिनदिनै ओरालो

महासंघका अनुसार कात्तिक २९ गते आइतबार सुन तोलामा १ हजार ५०० रुपैयाँ घटेर २ लाख ७० हजार २०० रुपैयाँ, कात्तिक ३० गते सोमबार १ हजार १०० रुपैयाँ घटेर २ लाख ६९ हजार १०० रुपैयाँ र मंसिर १ गते मंगलबार १ हजार ९०० रुपैयाँ घटेर २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।

मंसिर २ गते बुधबार सुन ६ हजार ३०० रुपैयाँ घटेर २ लाख ६० हजार ९०० रुपैयाँ र मंसिर ३ गते बिहीबार ३ हजार ३०० रुपैयाँ घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार यो मूल्य २ लाख ४५ हजार ४०० रुपैयाँमा झर्‍यो । प्रतिदस ग्रामका हिसाबले शुक्रबार सुन २ लाख १० हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

रेकर्डभन्दा ९३ हजार ९०० सस्तो

गत माघमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेर नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । अहिलेको मूल्य त्यो रेकर्डभन्दा ९३ हजार ९०० रुपैयाँ अर्थात् करिब २७.७ प्रतिशत कम हो ।

चाँदी पनि ५९० रुपैयाँ सस्तियो

सुनसँगै चाँदीको मूल्य पनि साताभर घटेको छ । अघिल्लो शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँ रहेको चाँदी यो शुक्रबार ३ हजार ११० रुपैयाँमा झरेको छ । यस हिसाबले साताभरमा चाँदी तोलामा ५९० रुपैयाँ (१५.९५ प्रतिशत) सस्तिएको छ । शुक्रबार मात्रै चाँदी तोलामा २२५ रुपैयाँ घटेको थियो ।

शनिबार बजार बन्द रहने भएकाले महासंघले आइतबार नयाँ मूल्य तोक्नेछ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.