राष्ट्र बैंकको वार्षिक प्रतिवेदन : खुद आय ८३ अर्ब ५६ करोड पुग्यो, सरकारलाई ४२ अर्ब दिने
नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को खुद आय ३.८४ प्रतिशतले बढेर ८३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ पुगेको छ र बैंकले ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराउने भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ मा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानि समायोजनअघिको खुद आय ३.८४ प्रतिशतले बढेर ८३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो आय ८० अर्ब ४८ करोड २६ लाख रुपैयाँ थियो ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार बैंकको सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले लेखापरीक्षण प्रतिवेदन पारित गर्दै खुद मुनाफाबाट विभिन्न कोषमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । अघिल्लो वर्ष पनि बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो ।
ब्याज आम्दानीले धान्यो
समीक्षा वर्षमा बैंकको खुद सञ्चालन आम्दानी ६.४८ प्रतिशतले बढेर ९३ अर्ब ९२ करोड २० लाख रुपैयाँ पुगेको छ । यसमध्ये खुद ब्याज आम्दानी ८.६३ प्रतिशतले बढेर ९४ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ पुगेको छ, जुन कुल खुद सञ्चालन आम्दानीको १००.६९ प्रतिशत हो । विदेशी विनिमय खरिद–बिक्रीबाट भने २ अर्ब १३ करोड ८८ लाख रुपैयाँ ऋणात्मक आम्दानी भएको छ भने अन्य आम्दानी १ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ छ ।
२०८३ असार मसान्तमा राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व अघिल्लो वर्षको तुलनामा ४५.०६ प्रतिशतले बढेर ३८ खर्ब ७४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति
प्रतिवेदनअनुसार समीक्षा वर्षमा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले बढेर २३ खर्ब ६३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । कुल गार्हस्थ्य उत्पादनसँग विप्रेषणको अनुपात अघिल्लो वर्षको २७.८ प्रतिशतबाट बढेर ३५.८ प्रतिशत पुगेको छ ।
चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले र शोधनान्तर १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ (२५ अर्ब ३१ करोड अमेरिकी डलर) पुगेको छ, जसले २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।
वस्तु निर्यात १३.८ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ र आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटा १६.६ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
कर्जा विस्तार सुस्त, मुद्रास्फीति कम
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३.९ प्रतिशतले बढे पनि निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले मात्र बढेको छ । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ४.०६ प्रतिशत थियो । भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ ।
असार मसान्तमा कर्जाको भारित औसत ब्याजदर वाणिज्य बैंकको ६.५५ प्रतिशत, विकास बैंकको ७.७० प्रतिशत र वित्त कम्पनीको ८.५५ प्रतिशत छ । वाणिज्य बैंकको निक्षेपको भारित औसत ब्याजदर भने ३.२१ प्रतिशत छ ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या असार मसान्तमा १०५ छ, जसमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी, ५१ लघुवित्त र १ पूर्वाधार विकास बैंक छन् । तिनको शाखा संख्या ११ हजार ३३२ पुगेको छ । असार मसान्तमा नेप्से सूचकाङ्क २५९७.८ बिन्दु र बजार पुँजीकरण ४४ खर्ब ६३ अर्ब ५५ करोड रुपैयाँ थियो ।
सामाजिक सुरक्षा कोषमा ३० लाखभन्दा बढी योगदानकर्ता
प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म सामाजिक सुरक्षा कोषमा ३० लाख ४७ हजार ४५० योगदानकर्ता आबद्ध छन् । यसमध्ये वैदेशिक रोजगारीमा रहेका २३ लाख २८ हजार ९३७, औपचारिक क्षेत्रका ७ लाख १६ हजार १६८, स्वरोजगारतर्फका १ हजार २१७ र अनौपचारिक क्षेत्रका १ हजार १२८ जना छन् । कोषमा २३ हजार ५०० रोजगारदाता आबद्ध छन् ।
कोषको सम्पत्ति २४ प्रतिशतले बढेर १ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । योगदानकर्ताबाट हालसम्म १ खर्ब २२ अर्ब ९१ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.