तीन महिनामा २३ अर्बको बीमा दाबी भुक्तानी, अझै करिब ७० अर्ब भुक्तानी हुन बाँकी

चालु आर्थिक वर्षको असोजसम्म बीमा कम्पनीहरूले २३ अर्ब १ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्, तर २ लाख ३६ हजारभन्दा बढी दाबीको करिब ७० अर्ब रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ ।

Artha Kendra Artha Kendra
शनिबार, ५ मंसिर २०८३, २:४१ PM
—
फन्ट
तीन महिनामा २३ अर्बको बीमा दाबी भुक्तानी, अझै करिब ७० अर्ब भुक्तानी हुन बाँकी

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा जीवन र निर्जीवन बीमा कम्पनीहरूले २३ अर्ब १ करोड २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यो रकम १ लाख १९ हजार १०३ वटा दाबीको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले ९१ हजार ४७८ वटा दाबीको १७ अर्ब २१ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेका थिए । यस हिसाबले दाबी भुक्तानी रकम ३३.६७ प्रतिशतले बढेको छ ।

भुक्तानी बढे पनि बाँकी दाबीको चाङ झनै ठूलो छ । असोज मसान्तसम्म जीवन र निर्जीवन दुवैतर्फ गरी २ लाख ३६ हजार ५०९ वटा दाबीको ६९ अर्ब ९७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । यो रकम तीन महिनामा भएको भुक्तानीको तीन गुणाभन्दा बढी हो ।

जीवन बीमा : भुक्तानी ३० प्रतिशतभन्दा बढीले बढ्यो

जीवन बीमा कम्पनीहरूले असोजसम्म ७७ हजार ७०९ वटा दाबीबापत १५ अर्ब १० करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो वर्ष यही अवधिमा ५८ हजार ८६३ वटा दाबीको ११ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ भुक्तानी भएको थियो । यसअनुसार दाबी संख्या ३२.०२ प्रतिशत र भुक्तानी रकम ३०.५२ प्रतिशतले बढेको छ ।

जीवन बीमातर्फ भुक्तानी हुन बाँकी दाबी भने एक वर्षमै दोब्बर भएको छ । असोज मसान्तसम्म १ लाख २३ हजार ४८४ वटा दाबीको ९ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । अघिल्लो वर्ष असोजसम्म ५७ हजार ३२१ वटा दाबीको ४ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बाँकी थियो । बाँकी दाबीको संख्या ११५.४३ प्रतिशत र रकम १०१.९२ प्रतिशतले बढेको छ ।

निर्जीवन बीमा : ६० अर्बभन्दा बढी दाबी बाँकी

निर्जीवन बीमा कम्पनीहरूले असोजसम्म ४१ हजार ३९४ वटा दाबीको ७ अर्ब ९० करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा ३२ हजार ६१५ वटा दाबीको ५ अर्ब ६४ करोड २ लाख रुपैयाँ भुक्तानी भएको थियो । दाबी संख्या २६.९२ प्रतिशत र भुक्तानी रकम ४०.१२ प्रतिशतले बढेको छ ।

सबैभन्दा ठूलो बाँकी दाबी निर्जीवनतर्फ छ । असोज मसान्तसम्म १ लाख १३ हजार २५ वटा दाबीको ६० अर्ब ५ करोड ७० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५२ अर्ब २० करोड ४० लाख रुपैयाँभन्दा १५.०४ प्रतिशत बढी हो । कुल बाँकी दाबी रकमको करिब ८६ प्रतिशत निर्जीवन बीमातर्फ छ ।

तीन महिनामा ७४ अर्बभन्दा बढी बीमाशुल्क

प्राधिकरणको मासिक तथ्यांकअनुसार असोजसम्म जीवन बीमातर्फ लघु जीवन बीमा र वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलसमेत गरी ५८ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ र निर्जीवन बीमातर्फ लघु निर्जीवनसमेत १५ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । दुवै गरी पहिलो त्रैमासमा ७४ अर्ब ५१ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क उठेको छ ।

नेपालमा हाल १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघु बीमा र २ पुनर्बीमा कम्पनी सञ्चालनमा छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.