अमेरिकी सेयर बजारमा भारी गिरावट : नास्डयाक ५.२८ प्रतिशत खस्कियो, एनभिडियाको सेयर १३.८ प्रतिशत घट्यो

कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सेयरमा चर्को बिक्रीपछि शुक्रबार अमेरिकी सेयर बजार तीव्र रूपमा घट्यो । एसएन्डपी ५०० र डाउ जोन्स रेकर्ड उचाइभन्दा १० प्रतिशतभन्दा बढी तल झरेर ‘करेक्सन’मा प्रवेश गरे भने नास्डयाकले यस वर्षको सबै बढोत्तरी गुमायो ।

Artha Kendra Artha Kendra
शनिबार, ५ मंसिर २०८३, ११:२६ AM
—
फन्ट
अमेरिकी सेयर बजारमा भारी गिरावट : नास्डयाक ५.२८ प्रतिशत खस्कियो, एनभिडियाको सेयर १३.८ प्रतिशत घट्यो

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) सँग जोडिएका कम्पनीको सेयरमा चर्को बिक्री दबाब आएपछि शुक्रबार अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । प्रविधि कम्पनीको बाहुल्य रहेको नास्डयाक कम्पोजिट सूचकांक १,२६१.४७ अंक अर्थात् ५.२८ प्रतिशत घटेर २२,६१७.७३ अंकमा बन्द भएको छ ।

बजारको व्यापक मापक मानिने एसएन्डपी ५०० सूचकांक ३.७ प्रतिशतले घटेर ६,९१०.३९ अंकमा झरेको छ । डाउ जोन्स इन्डस्ट्रियल एभरेज ९४९.७३ अंक अर्थात् १.९३ प्रतिशत घटेर ४८,१४७.३३ अंकमा बन्द भएको छ ।

रोयटर्सका अनुसार यो गिरावटसँगै एसएन्डपी ५०० र डाउ दुवै आफ्नो रेकर्ड बन्द उचाइभन्दा १० प्रतिशतभन्दा बढी तल झरेका छन् । बजारको भाषामा यस्तो अवस्थालाई ‘करेक्सन’ भनिन्छ । नास्डयाक भने यस वर्षको सुरुआती स्तरभन्दा पनि तल पुगेको छ ।

एनभिडियाको सेयर १३.८ प्रतिशत घट्यो

गिरावटको नेतृत्व चिप कम्पनीहरूले गरे । एआई चिप निर्माता एनभिडियाको सेयर १३.८ प्रतिशतले घटेको छ । अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले कम्पनीको लेखासम्बन्धी विषयमा अनुसन्धान गरिरहेको भनी रोयटर्सले स्रोतको हवालामा समाचार दिएपछि कम्पनीको सेयरमा दबाब बढेको थियो ।

अन्य चिप कम्पनीको सेयरमा पनि ठूलो गिरावट आयो । चिप कम्पनीहरूको फिलाडेल्फिया सेमिकन्डक्टर सूचकांक एकै दिन १० प्रतिशतभन्दा बढी खस्कियो ।

एन्थ्रोपिकको सेयर पनि ओरालो

बिहीबार मात्र नास्डयाकमा सूचीकृत भएको एआई कम्पनी एन्थ्रोपिकको सेयर कारोबारको दोस्रो दिन ९.१ प्रतिशत घटेको छ । कम्पनीले प्रतिसेयर ८३ डलरमा आईपीओ जारी गरेको थियो । पहिलो दिन यसको सेयर आईपीओ मूल्यभन्दा १७.१ प्रतिशत माथि बन्द भएको थियो ।

रोयटर्सका अनुसार एन्थ्रोपिकको आईपीओ र एनभिडियाको त्रैमासिक नतिजाले पनि एआईमा भइरहेको ठूलो खर्च र त्यससँग जोडिएको जोखिमप्रति लगानीकर्ताको चिन्ता कम गर्न सकेनन् ।

लगातार सातौं दिन गिरावट

एसएन्डपी ५०० लगातार सातौं कारोबार दिन घटेको छ । यो फेब्रुअरी २०२० यताकै सबैभन्दा लामो गिरावटको शृंखला हो । साताभरमा एसएन्डपी ५०० करिब ८.६ प्रतिशत घट्यो भने नास्डयाकको साप्ताहिक गिरावट मार्च २०२० यताकै सबैभन्दा ठूलो रह्यो ।

प्रविधि सेयरको गिरावटको असर क्रिप्टो बजारमा पनि देखिएको छ । रोयटर्सका अनुसार बिटक्वाइनको मूल्य ६० हजार डलरभन्दा तल झरेको छ ।

महिनाभर अस्थिर बजार

नोभेम्बरभर अमेरिकी सेयर बजार एआई सेयरको उतारचढावले अस्थिर बनेको छ । यसअघि नोभेम्बर ५ मा एसएन्डपी ५०० एकै दिन ४.४ प्रतिशत घटेको थियो । एआई डाटा सेन्टरमा भइरहेको ठूलो लगानीले पर्याप्त प्रतिफल दिने हो कि होइन भन्ने प्रश्न र एआई कम्पनीहरूको उच्च मूल्यांकनप्रतिको चिन्ता बजारमा देखिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.