के सेयर बजारलाई नै पुर्णकालिन (Full-time) पेशा बनाउन सकिन्छ? (शिव चन्द्र को विचार)
शिव चन्द्र
केहि दिन अघी प्रातकालिन भ्रमणको क्रममा भेट भएका एक मित्रले प्रश्न गर्नुभयो, "एउटा प्राईभेट सँस्थामा जागिर गरेको आठ बर्षको कमाईबाट गर्न नसकेको कमाई भन्दा तीन गुना बढी बाह्र लाख लगानी गरेर यो एक बर्षमा सेयर बजारबाट कमाए, अब जागिरनै छाडेर सेयर बजारमै फुलटाईमर भएर लाग्ने बारे सोच्दैछु, के सुझाव दिनुहुन्छ?"
वहाँको जिज्ञासामा मैले दिएको उत्तर धेरैलाई काम लाग्न सक्छ भन्ने सोचेर यहाँ पनि सेयर गर्न चाहें।
बजारमा पुर्णकालिन रुपमा लाग्न कसको लागी उपयुक्त?
• यदि तपाईंले दिर्धकालिन हिसाबले लगानी गर्नु भएको कम्पनीहरुले बार्षिक रुपमा दिने लाभांशले राम्रै सँग बार्षिक घर खर्च चल्छ अनि कारोबारको लागी छुट्टै फण्ड छ भने सबै छाडेर पुर्णकालिन रुपमा सेयर बजारमै लाग्न सक्नुहुन्छ।
• कुनै पनि क्षेत्रबाट रिटायर्ड ब्यक्तीको लागी सेयर बजार पुर्णकालिन रुपमा लाग्नको लागी उपयुक्त हुनसक्छ। लामो समय सेवा क्षेत्रमा बिताएकाहरुको लागी सेयर बजार सहज र समय काट्न सजिलो क्षेत्र हो।
• थोरै समय दिए पुग्ने हुँदा घरको कामकाज सकेर आफ्नो बचत परिचालन गर्नको लागी गृहिणीहरुको लागी पनि पुर्णकालिन रुपमा लाग्नको लागी सहज क्षेत्र भनेको सेयर बजार नै हो ।
• यदि लगानिको लागी पर्याप्त रकम छ र तपाईं सेयर बजार सम्बन्धी अध्ययन अनुसन्धान, शोध, गर्ने , एड्भाईजरीको काम गरेर आय आर्जन गर्ने सक्नेहरुको लागी पनि पुर्णकालिन रुपमा सेयर बजारनै उपयुक्त हुन्छ।
• सेयर बजारसँग सम्बन्धित सँस्थाहरु जस्तै मर्चेण्ट बैंक, ब्रोकर कम्पनी, ईन्भेष्ट्मेण्ट कम्पनीमा कार्य गर्नेहरु यसै पनि सेयर बजारमै पुर्णकालिन रुपमा रहेका हुन्छन्।
बजारमा पुर्णकालिन रुपमा लाग्न कसको लागी अनुपयुक्त?
• बिद्यार्थी जो आफ्नो अध्ययनसँगै आफ्नो बचतलाई सेयर बजारमा लगाउँदै आएका हुन्छन्, अध्ययनकालमा उनिहरुले पुर्णकालिन रुपमा सेयर बजारमा प्रवेश गर्ने बारे सोच्नु पनि हुँदैन।
• सिमित रकम लिएर पुर्णकालिन रुपमा बजार छिरेर ट्रेडिङ मात्र गरेर कमाउँछु भन्नेहरुकोको लागी पनि उपयुक्त नहुन सक्छ।
• निजी तथा सरकारी सेवामा कार्यरत ब्यक्तीहरुले आफ्नो नियमित कार्य सँगै सजिलै सेयर कारोबार गर्न सक्ने हुँदा काम नै छाडेर सेयर बजारमै पुर्णकालिन रुपमा लाग्न आवश्यक हुँदैन।
•सृजनात्मक काममा लागेकाहरु जस्तै कलाकार, गायक, सँगितकार, चित्रकार आदिले आफ्नो कर्म नछाडी आफ्नो सृजनालाई दिन प्रतिदिन निखार्दै सेयर बजारबाट पनि मनग्य कमाएका उदाहरणहरु पनि प्रशस्तै भेटिन्छन्।
•उद्योगी , ब्यापारी, स्वरोजगारीहरुले पनि आफ्नो कर्मलाई निरन्तरता दिंदै दोहोरो रुपमा सेयर बजारबाट पनि राम्रै आम्दानी गर्ने हुँदा सबै छोडेर सेयर बजारमै केन्द्रीत हुनु जरुरी छैन।
• कृषी तथा अन्य उत्पादनशिल क्षेत्रमा लाग्दै सेयर बजारमा पनि आफ्नो उपस्थिती जनाउँदै आएकाहरुमा पनि सबै छाडेर सेयर बजारमै लाग्छु भन्ने सोच पलायो भने अवस्था कस्तो होला?
यो बिषयमा प्रश्न गर्ने मित्रलाई छुट्टिने क्रममा प्रश्न गरेको थिएँ, "यो एक बर्षमा तपाईंले आठ बर्ष जागिर गरेर कमाउनु भएको भन्दा तीन गुना बढी कमाउनु भएछ, बधाई छ, एउटा कुरा नि तपाईंले बजारमा लगानी गर्न १२ लाख चाहिं कहाँबाट ल्याउनु भयो ?"
उनले अनकनाउँदै भने ," त्यो त आधा भन्दा बढी जागिर बाटै कमाएको बचत अनि बाँकी आफन्तसँगकै सरसापट थियो!"
कुरा प्रष्ट छ, उनले १२ लाख मद्धे आधा भन्दा बढी छाड्ने सोच भएको जागिरबाटै कमाएका रहेछन् भने बाँकी रकम त्यही जागिर देखेर नै आफन्तले बिश्वाश गरेर दिएका रहेछन् !
निश्कर्ष
सेयर बजारमा बिद्यार्थी, गृहिणी, कर्मचारी, उद्योगी, ब्यवसायी, कलाकार, राजनितिकर्मी देखी हरेक क्षेत्रमा आवद्दले कारोबार गर्न सक्दछन् र गरिरहेकै हुन्छन्। यसको लागी भएको नियमित आम्दानीको श्रोत नै छाडेर दौडनुपर्छ भन्ने हुँदैन।
हामिले अन्य क्षेत्रबाट नियमित रुपमा हुने कमाईको केहि अंश बचत गरेर त्यसलाई सेयर बजारमा लगानी गरी लगानीलाई बढाउँदै जाने सोच राख्नु पर्दछ। भर्खर बजार प्रवेश गरेकालाई थाहा नहोला तर बजारले कहिले काहिं थाम्नै नसकिने खुशी दिए सँगै कुनै समय सहनै नसक्ने पिडा पनि दिन्छ भन्ने तथ्य मनन गर्दै नियमित आम्दानीलाई पहिलो प्राथमिकतामा राख्नु जरुरी छ।
मनन गर्नुपर्ने कुरा चाहिं सेयर बजारबाट हुने आम्दानी मात्र सुखको साथी हो, घाटा दु:खको साथी बन्न सक्दैन भने नियमित रुपमा हुने आम्दानी सुख दु:ख दुबैको सारथी हो।
...शिव चन्द्रको फेसबुक प्रोफाइल बाट।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.