डीडीसीका पूर्वमहाप्रबन्धकसहित ८ जना पक्राउ, अनुसन्धानको दायरामा संस्थानका पूर्वपदाधिकारी

दुग्ध विकास संस्थान (डीडीसी) का तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्..

Artha Kendra Artha Kendra
शुक्रबार, १३ कार्तिक २०८३, १०:८ PM
—
फन्ट
डीडीसीका पूर्वमहाप्रबन्धकसहित ८ जना पक्राउ, अनुसन्धानको दायरामा संस्थानका पूर्वपदाधिकारी

काठमाडौं, १३ कात्तिक । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) लाई करोडौं रुपैयाँ आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ।

संस्थानका तत्कालीन महाप्रबन्धक र कर्मचारीको संलग्नतामा गैरकानुनी रूपमा आर्थिक लाभ लिँदै संस्थानलाई गम्भीर हानि पुर्‍याइरहेको उजुरी सीआईबीमा परेको थियो। सोही उजुरीको प्रारम्भिक छानबिनमा तत्कालीन महाप्रबन्धक, संस्थानका प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख र कर्मचारीहरूको पूर्वनियोजित योजना र मिलेमतो देखिएको ब्यूरोले जनाएको छ।

सीआईबीका अनुसार उनीहरूले संगठित सञ्जालको आवरणमा विभिन्न समूह खडा गरी संस्थानलाई प्रत्यक्ष आर्थिक क्षति पुर्‍याएका थिए। यसबाट रु. १२ करोड १३ लाख ४३ हजार ५३० गैरकानुनी लाभ लिइएको प्रारम्भिक रूपमा पुष्टि भएको छ।

सीआईबीका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्।

पूर्वमहाप्रबन्धकदेखि दैनिक पारिश्रमिक कर्मचारीसम्म

पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक संजिव झा पनि छन्। उनी पछिल्लो समय संस्थानकै केन्द्रीय कार्यालय लैनचौरमा प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारीमा थिए।

त्यस्तै, सिम्ले, भक्तपुर र चनौली चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज क्रमशः बिजय कुमार यादव, मनहरी शर्मा र रामकेवल राय पनि प्रहरी नियन्त्रणमा परेका छन्। उनीहरू हाल संस्थानका विभिन्न इकाइमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत थिए। यसका अतिरिक्त डीडीसीका कर्मचारी जितेन्द्र कुमार यादव, नविन राय यादव, शिव नन्दन राय र विख बहादुर भण्डारीलाई पनि पक्राउ गरिएको छ।

नाम उमेर स्थायी जिल्ला पद/जिम्मेवारी पक्राउ स्थान
संजिव झा ४५ सर्लाही तत्कालीन महाप्रबन्धक; हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुख, लैनचौर काठमाडौं महानगरपालिका–२६, लैनचौर
बिजय कुमार यादव ४६ सिराहा तत्कालीन सिम्ले चिस्यान केन्द्र इन्चार्ज; हाल जुनियर टेक्निकल असिस्टेन्ट, काठमाडौं दुग्ध वितरण आयोजना, बालाजु काठमाडौं महानगरपालिका–१६, बालाजु
मनहरी शर्मा ५५ पर्वत तत्कालीन भक्तपुर चिस्यान केन्द्र इन्चार्ज; हाल जुनियर टेक्निकल असिस्टेन्ट, केन्द्रीय कार्यालय लैनचौर पोखरा महानगरपालिका–१४, कास्की
रामकेवल राय ४९ सर्लाही तत्कालीन चनौली चिस्यान केन्द्र इन्चार्ज; हाल जुनियर टेक्निकल असिस्टेन्ट, काठमाडौं दुग्ध वितरण आयोजना संकलन केन्द्र चन्द्रनगर गाउँपालिका–५, मोहनपुर, सर्लाही
जितेन्द्र कुमार यादव २८ सर्लाही भरपाई पदका कर्मचारी, बागमती धुलो दूध कारखाना, हेटौंडा भरतपुर महानगरपालिका–५, आनन्दपुर, चितवन
नविन राय यादव ३२ सर्लाही डेरी ब्वाई पदका कर्मचारी; नवलपुर/गरुडा चिस्यान केन्द्र इन्चार्ज लालबन्दी नगरपालिका–५, मेजरगञ्ज, सर्लाही
शिव नन्दन राय ४६ सर्लाही दैनिक पारिश्रमिक पदका कर्मचारी, माडी चिस्यान केन्द्र माडी नगरपालिका–१, भरुवा, चितवन
विख बहादुर भण्डारी ४८ सिन्धुपाल्चोक जुनियर टेक्निकल असिस्टेन्ट; माडी चिस्यान केन्द्र इन्चार्ज माडी नगरपालिका–१, चितवन

दुई कानुनअन्तर्गत अनुसन्धान

प्रारम्भिक अनुसन्धानमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुर गरेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर प्रहरीले २०८३ कात्तिक १३ गते काठमाडौं, कास्की, सर्लाही र चितवनका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान जारी छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.