सञ्चार क्षेत्रका लागि बलियो नियामक आवश्यक- सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताएका छन् ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र व्यावसायिक बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताएका छन् ।
प्रदेशका सञ्चार तथा प्रेससम्बन्धी निकायका प्रमुखसँग मन्त्रालयमा भएको छलफलमा उनले सञ्चारमाध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकार आचारसंहिता, सञ्चारमाध्यमको जिम्मेवारी र नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिए ।
मन्त्री तिमिल्सिनाले प्रस्तावित प्रेस काउन्सिल विधेयक र आमसञ्चार विधेयकमार्फत नियामक निकायलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने सरकारको उद्देश्य रहेको बताए । संसद् तथा संसदीय समितिमा पर्याप्त छलफलपछि आवश्यक परिमार्जनसहित विधेयक अघि बढ्ने उनले बताए ।
उनले संघ, प्रदेश र स्थानीय तहबीच सञ्चार क्षेत्रसँग सम्बन्धित अधिकार, जिम्मेवारी र समन्वय स्पष्ट पारिने जानकारी दिए । संघीय संरचनाअनुसार कानुन र संस्थागत व्यवस्थाबीच देखिएका समस्या नयाँ कानुनमार्फत समाधान गरिने उनको भनाइ थियो ।
छलफलमा प्रदेशका सञ्चार तथा प्रेससम्बन्धी निकायका प्रमुखहरूले सञ्चारमाध्यमको दर्ता, अभिलेखीकरण, अनुमतिपत्र तथा नियमनसम्बन्धी व्यवस्था स्पष्ट बनाउन सुझाव दिएका थिए । मन्त्री तिमिल्सिनाले सरोकारवालाबाट प्राप्त सुझावलाई आगामी कानुनी व्यवस्थामा समेट्दै सञ्चार क्षेत्रलाई थप व्यवस्थित र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.