कृत्रिम बौद्धिकताको सुरक्षा सुनिश्चित गर्न ट्रम्प र प्रमुख प्रविधि कम्पनीहरुबीच सहमति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख प्रविधि कम्पनीका प्रमुखहरूले अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीको सुरक्षा सुनिश्चित गर्न संयुक्त सहमतिमा हस्ताक्षर गरेका छन् ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख प्रविधि कम्पनीका प्रमुखहरूले अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीको सुरक्षा सुनिश्चित गर्न संयुक्त सहमतिमा हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार अत्याधुनिक कम्प्युटिङ तथा कृत्रिम बौद्धिकता प्रणालीको सुरक्षा सुनिश्चित गर्न चार तहको नियन्त्रण र लेखापरीक्षण व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाइएको छ । भविष्यमा यी व्यवस्थालाई कानुनी रूप दिन सकिने सम्भावनालाई पनि खुला राखिएको छ ।
ट्रम्पले सहमतिपछि आफूले प्रविधि कम्पनीहरूबाट आफैंमाथि प्रभावकारी निगरानी गर्ने प्रतिबद्धता देखेको बताएका छन् । कम्पनीहरूले आफ्नो प्रविधिको विकास र प्रयोगमा आफैं निगरानी गर्नुपर्ने उनको भनाइ थियो ।
‘अत्याधुनिक कृत्रिम बौद्धिकताप्रतिको संयुक्त जिम्मेवारी’ नाम दिइएको यो दस्तावेज ह्वाइट हाउसमा आयोजित उच्चस्तरीय बैठकपछि सार्वजनिक गरिएको हो ।
बैठक प्रशासनले औपचारिक रूपमा ‘सुपर इन्टेलिजेन्स’ नाम दिएको विषयमा केन्द्रित थियो । अत्याधुनिक कृत्रिम बौद्धिकताको विकास तीव्र गतिमा भइरहेको र भविष्यमा यसमाथिको नियन्त्रण गुम्न सक्ने जोखिम रहेको भन्दै प्रविधि कम्पनीका प्रमुखहरूले सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने सुझाव दिएका थिए ।
सहमतिमा राष्ट्रपति ट्रम्पसँगै प्रमुख प्रविधि कम्पनीका प्रमुखहरूले पनि हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा गुगलका सुन्दर पिचाई, एन्थ्रोपिकका डारियो अमोदेई, मेटाका मार्क जुकरबर्ग, ओपनएआईका ग्रेग ब्रकम्यान, एक्सएआईका एलन मस्क र एनभिडियाका जेन्सेन हुआङ रहेका छन् ।
संयुक्त घोषणामा अमेरिकी नागरिक तथा विश्वका लागि सुरक्षित भविष्य निर्माण गर्न प्रत्येक कम्पनीले आफ्नो प्रविधिलाई सुरक्षित ढंगले विकास गर्नुपर्ने उल्लेख गरिएको छ । प्रविधिको विकासले ग्राहक तथा सर्वसाधारणको विश्वास बढाउनुपर्नेमा पनि जोड दिइएको छ ।
अत्याधुनिक कृत्रिम बौद्धिकता प्रणालीको विकास र प्रयोग गर्ने कम्पनीले सम्भावित समस्या तत्काल समाधान गर्न बलियो प्रक्रिया अपनाउनुपर्ने सहमतिमा उल्लेख छ । यसका लागि चार तहको नियन्त्रण र लेखापरीक्षण व्यवस्था लागू गर्ने भनिएको छ ।
पहिलो तहमा, कम्पनीहरूले प्रणालीको विकास र प्रयोगका क्रममा त्यसको क्षमता तथा सुरक्षा व्यवस्थामाथि निगरानी गर्न बलियो आन्तरिक नियन्त्रण लागू गर्नुपर्नेछ । साइबर सुरक्षा, जैविक सुरक्षा र रासायनिक जोखिमजस्ता क्षेत्रमा विशेष ध्यान दिनुपर्नेछ । प्रणालीले अनपेक्षित रूपमा प्राविधिक संरचनामा प्रवेश गर्ने वा त्यसलाई क्षति पुर्याउने अवस्था आउन नदिन आवश्यक व्यवस्था गर्नुपर्नेछ ।
दोस्रो तहमा, कम्पनीभित्रै एउटा अधिकारसम्पन्न टोली गठन गर्नुपर्नेछ । उक्त टोलीले नियन्त्रण, निगरानी र जोखिम पहिचान गर्ने प्रणालीले प्रभावकारी रूपमा काम गरिरहेका छन् कि छैनन् भन्ने हेर्नेछ । समस्या देखिएमा त्यसलाई समाधान गर्ने जिम्मेवारी पनि उक्त टोलीको हुनेछ ।
तेस्रो तहमा, स्वतन्त्र बाह्य जाँचको व्यवस्था गरिनेछ । प्रविधि कम्पनीहरूले स्वतन्त्र लेखापरीक्षक वा मूल्याङ्कनकर्तामार्फत आफ्नो नियन्त्रण, निगरानी तथा जोखिम पहिचान गर्ने प्रणाली प्रभावकारी भए–नभएको परीक्षण गराउनुपर्नेछ ।
चौथो तहमा, सञ्चालक समितिअन्तर्गत स्वतन्त्र समिति गठन गर्ने व्यवस्था गरिएको छ । उक्त समितिले नियन्त्रण सञ्चालन गर्ने टोली तथा आन्तरिक र बाह्य लेखापरीक्षक एवं मूल्याङ्कनकर्ताको कामको निगरानी गर्नेछ । समितिले उनीहरूबाट प्रतिवेदन लिने र पहिचान भएका समस्या समाधान भए–नभएको सुनिश्चित गर्नेछ ।
संयुक्त घोषणामा यी चारै तहका नियन्त्रण र लेखापरीक्षणले कम्पनी, ग्राहक तथा सर्वसाधारणलाई प्रविधि सुरक्षित रूपमा सञ्चालन भइरहेको विश्वास दिलाउने उल्लेख गरिएको छ । सहमतिमा सहभागी प्रविधि कम्पनीहरूले नियमित रूपमा बैठक बसेर कृत्रिम बौद्धिकता प्रणालीको क्षमता बढ्दै जाँदा आवश्यक नयाँ सुरक्षा मापदण्ड र प्रभावकारी अभ्यास तय गर्ने पनि सहमति गरेका छन् ।
यो सहमति तत्काल लागू हुने सरकारी कानुन नभई कम्पनीहरूले स्वेच्छाले अपनाउने आत्मनियमनको प्रतिबद्धता हो । तर सहभागी कम्पनीहरूले भविष्यमा यस्ता सुरक्षा व्यवस्था अनिवार्य संघीय कानुनको रूप लिन सक्ने सम्भावनालाई औपचारिक रूपमा स्वीकार गरेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.