अनियन्त्रित एआई बारे राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल

तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकता (एआई) बाट उत्पन्न सम्भावित जोखिमबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल भएको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, ८ असोज २०८३, १:१७ PM
फन्ट
अनियन्त्रित एआई बारे राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल

काठमाडौँ । तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकता (एआई) बाट उत्पन्न सम्भावित जोखिमबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल भएको छ । कृत्रिम बौद्धिकता क्षेत्रका प्रमुख कम्पनीका अधिकारीहरूले सुरक्षा परिषद्लाई यस प्रविधिबाट हुने सम्भावित लाभसँगै गम्भीर जोखिमबारे जानकारी गराएका छन् ।

सुरक्षा परिषद्को बैठकमा ओपनएआई, एन्थ्रोपिक र हगिङ फेसलगायत प्रमुख प्रविधि कम्पनीका प्रतिनिधिले कृत्रिम बौद्धिकताको पछिल्लो विकास र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमबारे धारणा राखेका थिए ।

ट्युरिङ पुरस्कार प्राप्त गरेका कृत्रिम बौद्धिकता विज्ञ योशुआ बेन्जियोले मानिसभन्दा बढी क्षमताका प्रणाली नियन्त्रणबाहिर गएमा त्यसबाट उत्पन्न हुने जोखिम अभूतपूर्व हुने बताएका छन् । उनले यस्तो खतरा कुनै एक देशले मात्र नियन्त्रण गर्न नसक्ने र राष्ट्रिय सीमाले पनि त्यसलाई रोक्न नसक्ने बताएका छन् ।

बैठकमा कृत्रिम बौद्धिकताको विकास र प्रयोगमा अन्तर्राष्ट्रिय संस्थाको भूमिका कस्तो हुने भन्ने विषयमा सदस्य राष्ट्रबीच फरक धारणा देखिएको थियो ।

धेरै देशले तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकताको व्यवस्थापनमा अन्तर्राष्ट्रिय संस्थाको भूमिका आवश्यक रहेको बताएका छन् । तर संयुक्त राज्य अमेरिकाका प्रतिनिधिले अन्तर्राष्ट्रिय नियन्त्रण लगाउने प्रयासको विरोध गरेका छन् । अमेरिकी प्रतिनिधिले आफ्नो देशलाई उन्नत कृत्रिम बौद्धिकता विकासमा अग्रणी रहेको उल्लेख गरेका थिए । चीनले भने कृत्रिम बौद्धिकता धनी देश र धनी व्यक्तिको मात्र पहुँचमा सीमित हुन नहुनेमा जोड दिएको छ ।

बैठकमा सहभागी विभिन्न वक्ताले कृत्रिम बौद्धिकताको दुरुपयोग रोक्न, विकास प्रक्रियामा पारदर्शिता कायम गर्न तथा सुरक्षा सुनिश्चित गर्न आवश्यक नियम र उपाय अवलम्बन गर्नुपर्ने बताएका छन् ।

लाइबेरियाका स्थायी प्रतिनिधि लुइस गार्सेडाह ब्राउन द्वितीयले इतिहासमा भएका ठूला परिवर्तन प्रविधिको विकासबाट मात्र परिभाषित नहुने बताएका छन् । नयाँ क्षमताको विकाससँगै त्यसलाई व्यवस्थित गर्ने शासन प्रणालीमा पनि समान रूपमा विकास आवश्यक हुने उनको भनाइ थियो । उनले कृत्रिम बौद्धिकता र उन्नत कम्प्युटिङले युद्ध, सार्वभौमिकता तथा भूराजनीतिक स्थिरताको स्वरूप परिवर्तन गर्न सक्ने भएकाले यसको विषय सुरक्षा परिषद्को अन्तर्राष्ट्रिय शान्ति र सुरक्षासम्बन्धी जिम्मेवारीसँग प्रत्यक्ष जोडिएको बताए ।

उनले कुनै ठूलो प्रणालीगत असफलता वा विनाशकारी गल्ती भएपछि मात्र सुरक्षा उपाय तय गर्ने अवस्था आउन नदिन अन्तर्राष्ट्रिय समुदायले अहिले नै सामूहिक सुरक्षा व्यवस्था बनाउनुपर्नेमा जोड दिए ।

लाइबेरियाका प्रतिनिधिले उन्नत कम्प्युटिङ प्रविधि नागरिक पूर्वाधारमाथिको साइबर हमलासँग जोडिँदा, स्वचालित हतियार प्रणालीमा प्रयोग हुँदा तथा भूराजनीतिक प्रतिस्पर्धामा प्रवेश गर्दा यसको सम्बन्ध अन्तर्राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष हुने बताएका छन् । उनले सुरक्षा परिषद्को संलग्नता दोहोरो काम नभई द्वन्द्व रोकथामको उपाय भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघका डिजिटल तथा उदीयमान प्रविधिसम्बन्धी विशेष दूत अमानदिप सिंह गिलले कृत्रिम बौद्धिकता तीव्र गतिमा अघि बढिरहेको र यसले समाज तथा अर्थतन्त्रको स्वरूप परिवर्तन गरिरहेको बताएका छन् ।

चीनका स्थायी प्रतिनिधि फु कङले प्रविधि क्षेत्रमा केही शक्तिशाली देशले आफ्नो प्राविधिक अग्रता कायम राख्न समूह बनाउने प्रयासको विरोध गरेका छन् । उनले यस्तो प्रवृत्तिले विशेषगरी साना देशको प्रगति प्रभावित गर्नुका साथै प्रविधिसम्बन्धी मापदण्डमा विभाजन र विभिन्न प्रणालीबीच असंगति बढाउने जोखिम रहेको बताए। यसले विश्व सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्ने उनको भनाइ थियो।

चीनले सबै देशलाई सहकार्य बढाउन, खुला स्रोतमा आधारित प्रविधि प्रणालीलाई प्रोत्साहन गर्न तथा विश्वव्यापी वैज्ञानिक र प्राविधिक विकासका लागि मिलेर काम गर्न आह्वान गरेको छ। फु कङले विशेषगरी ठूला प्रविधि कम्पनीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने, गलत सूचना र घृणात्मक अभिव्यक्तिको प्रसार रोक्नुपर्ने तथा कानुन र सार्वजनिक निगरानीअन्तर्गत रहनुपर्ने बताएका छन्। उनले कृत्रिम बौद्धिकता सम्पूर्ण मानवताको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसलाई धनी देश र धनी व्यक्तिको मात्र खेल बन्न दिन नहुने बताएका छन्।

बैठकमा अभिनेता तथा संयुक्त राष्ट्रसंघका विश्वव्यापी सद्भावना प्रवर्द्धक जोसेफ गोर्डन–लेभिटले पनि कृत्रिम बौद्धिकतालाई मानिसप्रति जवाफदेही बनाउन थप कडा नियम आवश्यक रहेको बताएका छन् । उनले विशेषगरी बालबालिकामाथि कृत्रिम बौद्धिकताको बढ्दो प्रभाव तथा मानिसको ध्यान र आपसी सम्बन्धमा पर्न सक्ने असरबारे चिन्ता व्यक्त गरेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.