हिउँदको विद्युत् माग व्यवस्थापनका लागि प्राधिकरणले थाल्यो तयारी, पाँच सदस्यीय समिति गठन
नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ।
हिउँदमा विद्युत्को माग र आपूर्ति व्यवस्थापनका विषयमा मंगलबार बसेको बैठकले आवश्यक अध्ययन तथा तयारीका कामलाई तीव्रता दिने निर्णय गरेको हो।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेर उत्पादन बन्द भएपछि आगामी हिउँदको विद्युत् व्यवस्थापनका लागि प्राधिकरणले तयारी अघि बढाएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा आयोजना व्यवस्थापन तथा प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक, विभिन्न विभागका प्रमुख तथा आयोजना प्रमुखहरू सहभागी थिए।
बैठकले हिउँदमा विद्युत् माग व्यवस्थापनका लागि आवश्यक अध्ययन तथा काम अघि बढाउन बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई दैनिक कार्यप्रगति विवरण कार्यकारी निर्देशकसमक्ष पेस गर्न तथा कामका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ।
कार्यकारी निर्देशक श्रेष्ठले त्रिशूली नदी बेसिनका विद्युत् केन्द्रबाट उत्पादन बन्द हुँदा विद्युत् माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि आगामी हिउँदमा विद्युत् कटौती गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
बैठकले काठमाडौं उपत्यका र आसपास निर्माणाधीन प्रसारण तथा वितरण आयोजनाको काम तोकिएको समयसीमाभित्र सम्पन्न गर्ने विषयमा पनि निर्णय गरेको छ।
त्यस्तै, बाढी प्रभावित नुवाकोट र रसुवामा विद्युत् आपूर्ति भरपर्दो बनाउन विभिन्न विकल्पबारे अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको छ।
बाढीबाट क्षति पुगेको देवीघाट विद्युत् केन्द्र पुनः सञ्चालनमा ल्याउने सम्भावनाबारे स्थलगत अध्ययन गर्न टोलीसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.