सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो, दीर्घकालीनमा ३.५ र अल्पकालीनमा ५ प्रतिशत कायम

सरकारले सेयर कारोबारबाट हुने नाफामा प्राकृतिक व्यक्तिले तिर्नुपर्ने पूँजीगत लाभकरको दर घटाउने निर्णय गरेको छ।

Artha Kendra Artha Kendra
बुधबार, ३१ भदौ २०८३, ६:५५ PM
फन्ट
सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो, दीर्घकालीनमा ३.५ र अल्पकालीनमा ५ प्रतिशत कायम

काठमाडौं । सरकारले सेयर कारोबारबाट हुने नाफामा प्राकृतिक व्यक्तिले तिर्नुपर्ने पूँजीगत लाभकरको दर घटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र कारोबारमा लाग्ने अग्रिम करको दर घटाउँदै दीर्घकालीन लगानीकर्ताका लागि ३.५ प्रतिशत र अल्पकालीन लगानीकर्ताका लागि ५ प्रतिशत कायम गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको धितोपत्र बिक्रीबाट प्राप्त हुने लाभमा प्राकृतिक व्यक्तिको हकमा नयाँ करदर कायम गरिएको जानकारी दिएका छन्।

नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखिएको धितोपत्र बिक्री गर्दा प्राप्त हुने लाभमा ३.५ प्रतिशत अग्रिम कर लाग्नेछ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा राखिएको धितोपत्र बिक्रीबाट हुने लाभमा ५ प्रतिशत अग्रिम कर कायम गरिएको छ।

यसअघि ३६५ दिनभन्दा बढी अवधि धितोपत्र होल्ड गर्ने प्राकृतिक व्यक्तिले नाफामा ७.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गर्नेले १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए।

यस हिसाबले दीर्घकालीन लगानीकर्ताको करदर ७.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झरेको छ भने अल्पकालीन लगानीकर्ताको करदर १० प्रतिशतबाट ५ प्रतिशतमा झरेको छ।

नयाँ र पुरानो पूँजीगत लाभकर

सेयर होल्ड गरेको अवधि यसअघिको दर नयाँ दर
३६५ दिनभन्दा बढी ७.५% ३.५%
३६५ दिन वा सोभन्दा कम १०% ५%

उदाहरणका लागि, ३६५ दिनभन्दा बढी समय राखेको सेयर बिक्री गर्दा रु. १ लाख पूँजीगत लाभ भएको अवस्थामा यसअघि रु. ७,५०० कर लाग्नेमा नयाँ दरअनुसार रु. ३,५०० लाग्नेछ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधिको कारोबारमा रु. १ लाख नाफा हुँदा यसअघि रु. १० हजार लाग्ने कर नयाँ दरअनुसार रु. ५ हजार हुनेछ।

सरकारले पछिल्लो समय पूँजी बजार सुधारका लागि अघि सारेको कार्ययोजनामा समेत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर पुनरावलोकन गर्ने विषय समावेश गरेको थियो। मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै करदर घटाउने प्रस्तावले औपचारिक स्वीकृति पाएको छ।

प्रकाशित विवरणअनुसार नयाँ करदर राजपत्रमा सूचना प्रकाशित भएपछि कार्यान्वयनमा आउने बताइएको छ। त्यसैले लगानीकर्ताले नयाँ दर लागू भएको मिति यकिन गर्दा राजपत्रमा प्रकाशित सूचनालाई आधार मान्नुपर्ने हुन्छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

नवराज

·

स्वागत योग्य कार्य ।