यी हुन् करदाता प्रोत्साहनको दोस्रो पाक्षिक पुरस्कारका विजेता
अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट छनोट भएका विजेताको नाम सार्वजनिक गरेको छ ।
काठमाडौँ । अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट छनोट भएका विजेताको नाम सार्वजनिक गरेको छ । भदौ १ गते मन्त्रालयको सुवर्ण हलमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताको छनोट गरिएको हो ।
श्रावण १६ देखि ३१ गतेसम्म सञ्चालन गरिएको करदाता प्रोत्साहन योजनाअन्तर्गत गरिएको गोलाप्रथाबाट तुल पुडासैनी बम्पर विजेता बनेका छन् । उनको कुपन नम्बर ०२६८८८९७९०३९ रहेको छ ।
बम्पर उपहारबाहेक थप १६ जना करदाता पनि विजेता छनोट भएका छन् । विजेताहरूमा योगेश विश्वकर्मा, दिनेश तामाङ, अस्क्रिना लामा, भगवती सापकोटा, रहिम महमद हवारी, महेशकुमार पौडेल, राजेन्द्र थापा र कमला तामाङ छन् । त्यस्तै शिवनारायण बढही मिस्त्री, चुडामणि दनाई, रमेश साह कानु, मनीष गौतम, घनश्याम तिवारी, राकेशकुमार सिंह, विकास गुरुङ र चक्रबहादुर शाही पनि विजेता भएका छन् ।
मन्त्रालयका अनुसार विजेताले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ बमोजिमको प्रक्रिया पूरा गरेपछि पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार दाबी गर्न सबै विजेताले २०८३ भदौ १६ गतेभित्र आफूलाई पायक पर्ने नजिकको आन्तरिक राजस्व कार्यालयमा आधिकारिक निवेदन पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न ३ लाख ५७ हजार १४९ नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका थिए । यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो ।
त्यस्तै, क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको अर्थ मन्त्रालयले जनाएको छ । विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ ।
बैंक तथा वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन् । तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ ।
नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.