प्रधानमन्त्री शाहको राष्ट्रका नाममा सम्बोधन: शान्ति, सद्भाव र संयमता अपनाउन आग्रह

प्रधानमन्त्रीले सुनसरीको देवानगञ्ज, सिराहा लगायतका क्षेत्रमा भएको दुःखद घटना र त्यसपछि विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन्।

Artha Kendra Artha Kendra
बिहिबार, १४ श्रावण २०८३, ९:१२ PM
फन्ट
प्रधानमन्त्री शाहको राष्ट्रका नाममा सम्बोधन: शान्ति, सद्भाव र संयमता अपनाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिराहा लगायतका क्षेत्रमा भएको दुःखद घटना तथा त्यसपछि देशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नागरिकसँग संयमता अपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको जानकारी दिएका छन्।

उनले घटनालगत्तै सुरक्षा निकाय परिचालन गरी थप अप्रिय घटना हुन नदिन तथा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी रूपमा काम भइरहेको बताए। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गरिने स्पष्ट पारे।

प्रधानमन्त्रीका अनुसार परिस्थिति सामान्य बनाउन केन्द्रस्तरमा सर्वदलीय बैठक आयोजना गरिएको छ भने स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय अवस्थाको प्रत्यक्ष अनुगमन तथा पीडित पक्षसँग भेटघाट गर्न गृहमन्त्री घटनास्थल पुगिसकेको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट आवश्यक निर्णयसमेत भइसकेको उनले जानकारी दिए।

सम्बोधनका क्रममा उनले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट असत्य, अपुष्ट र भ्रामक सूचना, अफवाह तथा घृणा फैलाउने सामग्री प्रचार–प्रसार नगर्न सबैसँग आग्रह गरे। सरकारी निकायबाट जारी भएका आधिकारिक सूचना मात्र विश्वास गर्न अनुरोध गर्दै उनले अफवाहले सामाजिक सद्भावमा गम्भीर असर पार्न सक्ने चेतावनी दिए।

प्रधानमन्त्री शाहले प्रत्येक नागरिकको जीवन, सम्पत्ति र सुरक्षाको प्रत्याभूति गर्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा समुदायबीच वैमनस्य सिर्जना गर्ने गतिविधिप्रति सरकारले शून्य सहनशीलताको नीति अपनाउने बताए।

उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा पालना गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै कुनै एक स्थानमा भएको दुःखद घटनाको आधारमा सम्पूर्ण समुदायलाई दोषारोपण गर्नु वा प्रतिशोधको भावना फैलाउनु कुनै पनि दृष्टिले स्वीकार्य नहुने बताए।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिक, राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज, सञ्चारमाध्यम तथा सामाजिक अगुवालाई धैर्यता, संयमता र जिम्मेवारीका साथ सामाजिक सद्भाव, राष्ट्रिय एकता र स्थायी शान्ति कायम राख्न सहयोग गर्न हार्दिक अपिल गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.