आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
भारतको चर्चित टी-२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यावसायिक मूल्य बढेर २० अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।
काठमाडौँ । भारतको चर्चित टी–२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यावसायिक मूल्य बढेर २० अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।
वित्तीय परामर्श संस्था हुलिहान लोकीले बुधबार सार्वजनिक गरेको आईपीएल मूल्याङ्कन अध्ययन–२०२६ अनुसार आईपीएलको व्यावसायिक मूल्य अघिल्लो वर्षको तुलनामा ११.४ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिवेदनअनुसार आईपीएलको ब्रान्ड मूल्य पनि १०.३ प्रतिशतले बढेर ४ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ । लगातार दोस्रो वर्ष आईपीएलको व्यावसायिक मूल्य र ब्रान्ड मूल्य दुवै दोहोरो अंकले वृद्धि भएका हुन्।
यस वर्ष आईपीएलमा सबैभन्दा ठूलो व्यावसायिक घटना रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र राजस्थान रोयल्सको स्वामित्व परिवर्तन भएको छ।
रोयल च्यालेन्जर्स बेङ्गलुरु मार्चमा १ अर्ब ७८ करोड अमेरिकी डलरमा बिक्री भएको थियो, जुन आईपीएल इतिहासकै सबैभन्दा महँगो टोली बिक्री हो। यस टोलीको स्वामित्व आदित्य बिर्ला समूह, टाइम्स अफ इन्डिया समूह, डेभिड ब्लिट्जरको बोल्ट भेन्चर्स र ब्ल्याकस्टोनको समूहले संयुक्त रूपमा लिएका हुन्।
त्यसपछि मे महिनामा राजस्थान रोयल्स १ अर्ब ६५ करोड अमेरिकी डलरमा मित्तल परिवार र सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख अदार पुनावालालाई बिक्री गरिएको थियो। यी दुई टोलीको बिक्रीबाट मात्रै ३ अर्ब ४३ करोड अमेरिकी डलर बराबरको कारोबार भएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार आईपीएलको टेलिभिजन र डिजिटल माध्यमबाट कुल पहुँच १ अर्ब ६ करोड स्क्रिन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत बढी हो।
टेलिभिजन दर्शक घटे पनि डिजिटल माध्यममा उल्लेख्य वृद्धि भएको प्रतिवेदनले जनाएको छ। प्रसारण अधिकार, प्रायोजन र टिकट बिक्रीबाट यस वर्ष आईपीएलको कुल आम्दानी १ अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ।
यस वर्ष पहिलो पटक रोयल च्यालेन्जर्स बेङ्गलुरु आईपीएलकै सबैभन्दा मूल्यवान टोली बनेको छ। टोलीको ब्रान्ड मूल्य १६ प्रतिशतले बढेर ३१ करोड २० लाख अमेरिकी डलर पुगेको छ।
यसपछि मुम्बई इन्डियन्स दोस्रो र कोलकाता नाइट राइडर्स तेस्रो स्थानमा रहेका छन्। चेन्नई सुपर किङ्स चौथो स्थानमा झरेको छ।
प्रतिवेदनले आईपीएल विश्वकै निजी लगानीकर्ताका लागि सबैभन्दा आकर्षक खेल प्रतियोगितामध्ये एक बनेको उल्लेख गरेको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले टोलीमा निजी लगानीका लागि अन्य धेरै खेल लिगको तुलनामा कम प्रतिबन्ध लगाएकाले विदेशी लगानीकर्ताको आकर्षण बढेको प्रतिवेदनको निष्कर्ष छ।
प्रत्येक टोलीले प्रसारण अधिकारबाट मात्रै वार्षिक करिब ५ करोड ५० लाख अमेरिकी डलर प्राप्त गर्ने व्यवस्था पनि आईपीएलको आर्थिक मजबुतीको प्रमुख आधार मानिएको छ।
हुलिहान लोकीले सन् २०२८ देखि २०३२ सम्मको आईपीएल प्रसारण अधिकारको मूल्य हालको ६ अर्ब २० करोड अमेरिकी डलरबाट ८० देखि १०० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेको छ।
यद्यपि अनुसन्धान संस्था मिडिया पार्टनर्स एसियाले भने प्रतियोगिताको खेल संख्या बढेकाले आगामी प्रसारण अधिकारको मूल्य स्थिर रहने र प्रति खेल मूल्य घट्न सक्ने अनुमान सार्वजनिक गरेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.