हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार- प्रधानमन्त्री शाह

नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

Artha Kendra Artha Kendra
बुधबार, ६ श्रावण २०८३, ३:३७ PM
फन्ट
हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार- प्रधानमन्त्री शाह

काठमाडौँ । नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि उनीहरुलाई बोलाएका थिए । छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको महासंघका प्रतिनिधिहरुले बताएका हुन् ।

त्यस क्रममा प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए । यस्तै, निजी–सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने पदाधिकारीहरुको मागप्रति पनि प्रधानमन्त्री सकारात्मक रहेको बताएका छन् ।

अहिलेसम्म महासंघले मंसिर २८ मा आफ्नै ढंगले हस्तकला दिवस मनाइरहेको अवस्थामा अब राष्ट्रिय स्तरमा हस्तकला दिवस मनाउनुपर्ने माग पदाधिकारीहरुले गरेका थिए । प्रधानमन्त्री शाहले पनि उक्त दिवस मनाउने विषयमा तत्काल गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टिमलाई निर्देशन दिएका छन् ।

यस्तै, हस्तकला सामग्री निर्यात अहिलेसम्म स्वघोषणाको आधारमा भइरहेकोमा त्यसको साटो बिजक मूल्यांकन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीहरुको सुझावअनुसार काम गरिने प्रधानमन्त्रीले आश्वस्त पारे ।

त्यसैगरी, हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने पाँच प्रतिशत प्रोत्साहन रकम तीन वर्षदेखि रोकिएकोमा त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि प्रधानमन्त्री शाहले आश्वासन दिएका छन् ।

सार्क हस्तकला विकास केन्द्रका लागि उद्योग विभागमा भवन निर्माण भइसके पनि त्यहाँ कम्पनी रजिस्ट्रारको कार्यालय सञ्चालन भइरहेको भन्दै उक्त भवन हस्तकला क्षेत्रलाई फिर्ता गर्नुपर्ने माग पनि पदाधिकारीहरुले राखेका थिए । यस विषयमा पनि आवश्यक पहल गर्ने प्रधानमन्त्रीले आश्वासन दिएका छन् ।

यस्तै, काठमाडौं उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने तथा सातै प्रदेशमा हस्तकला सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाएका छन् ।

यसका साथै, निर्माण व्यवसायीसँगको सहकार्यमा कलात्मक संरचना निर्माण गर्न दुई पक्षबीच सम्झौता गराउने विषयमा गरिएको अनुरोधप्रति पनि प्रधानमन्त्री सकारात्मक बनेका छन् ।

छलफलमा परम्परागत सीप तथा कलाको संरक्षण, हस्तकलाकर्मीलाई परिचयपत्र उपलब्ध गराउने लगायतका विभिन्न मागसमेत उठाइएको थियो ।

छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.