विवादास्पद हारपछि इजिप्ट आक्रोशित, अर्जेन्टिनालाई 'जिताइएको' आरोप

अर्जेन्टिनासँग अन्तिम १६ को खेलमा विवादास्पद रूपमा पराजित भएपछि इजिप्टका खेलाडी र प्रशिक्षकले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र खेल सञ्चालनप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।

Artha Kendra Artha Kendra
बुधबार, २४ असार २०८३, १०:३२ PM
फन्ट
विवादास्पद हारपछि इजिप्ट आक्रोशित, अर्जेन्टिनालाई 'जिताइएको' आरोप

काठमाडौँ । अर्जेन्टिनासँग अन्तिम १६ को खेलमा विवादास्पद रूपमा पराजित भएपछि इजिप्टका खेलाडी र प्रशिक्षकले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र खेल सञ्चालनप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।

इजिप्टका खेलाडी मोस्तफा जिकोले विश्वकप प्रतियोगिता नै अर्जेन्टिनालाई जिताउने गरी ‘पूर्वनियोजित’ भएको आरोप लगाएका छन् भने मुख्य प्रशिक्षक होसाम हसनले रेफ्रीको निर्णयलाई अन्यायपूर्ण भन्दै अब आफूले विश्वकप नै नहेर्ने बताएका छन् ।

अटलान्टामा भएको रोमाञ्चक खेलमा इजिप्टले सुरुआतमा २-० को अग्रता बनाएको थियो । तर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै ३-२ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो । खेलको नतिजाभन्दा पनि रेफ्रीका केही निर्णय विवादको केन्द्रमा रहे ।

इजिप्टले पहिलो हाफमा गरेको एक गोल रेफ्रीले अस्वीकार गरेका थिए । त्यसपछि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दाबी गरिए पनि पेनाल्टी दिइएन । त्यसको केही क्षणमै अर्जेन्टिनाले तीव्र प्रत्याक्रमण गर्दै एन्जो फर्नान्डेजमार्फत निर्णायक गोल गरेको थियो । इजिप्टका खेलाडीले उक्त गोलअघि पनि फाउल भएको दाबी गरेका छन् । खेलपछि निकै भावुक देखिएका मोस्तफा जिकोले रेफ्रीको निर्णयले खेलको परिणाम बदलिएको बताए । उनले सुरुदेखि नै आफ्नो टोलीमाथि अन्याय भएको दाबी गर्दै प्रतियोगिता निष्पक्ष नभएको आरोप लगाए ।

‘रेफ्री निष्पक्ष थिएनन् । खेलको सुरुदेखि नै हामीमाथि अन्याय भयो । २-० को अग्रता पनि अर्जेन्टिनालाई हराउन पर्याप्त भएन । यो प्रतियोगिता पूर्वनियोजित जस्तो देखियो । हामीले समर्थकलाई खुसी बनाउन चाहन्थ्यौँ, तर रेफ्रीका कारण त्यो सम्भव भएन,’ उनले प्रतिक्रिया दिएका छन् ।

मुख्य प्रशिक्षक होसाम हसनले पनि रेफ्री र भिडियो सहायक रेफ्रीको भूमिकाप्रति असन्तुष्टि जनाए । उनका अनुसार इजिप्टले पाउनुपर्ने कम्तीमा दुई पेनाल्टीको समीक्षा गरिएन भने टोलीले गरेको अर्को गोलसमेत स्पष्ट कारणबिनै रद्द गरियो ।

हसनले अर्जेन्टिनामाथि रेफ्रीमाथि दबाब परेको आरोप लगाउँदै विश्व फुटबलमा निष्पक्षताको अभाव देखिएको बताए । उनले विश्व च्याम्पियनलाई प्रतियोगितामा अघि बढाउन विभिन्न तहबाट सहयोग भएको हुन सक्ने आशंकासमेत व्यक्त गरे ।

खेल दिउँसो १२ बजे आयोजना गरिएको निर्णयप्रति पनि उनले असन्तुष्टि जनाएका छन्। यस्तो समयमा खेल राख्नु खेलाडीका लागि उपयुक्त नभएको भन्दै प्रतियोगिताको तालिकामाथि पनि उनले प्रश्न उठाए ।

यद्यपि, इजिप्टले लगाएका यी सबै आरोपबारे फिफाले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । साथै, प्रतियोगिता पूर्वनियोजित भएको वा रेफ्रीले जानाजानी पक्षपात गरेको दाबी पुष्टि गर्ने कुनै स्वतन्त्र प्रमाण सार्वजनिक भएको छैन ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.