उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, ६८ हजार किसानले पाए राहत

सरकारले चालु आर्थिक वर्षमा उखु किसानले पाउनुपर्ने अधिकांश रकम भुक्तानी भइसकेको जनाएको छ।

Artha Kendra Artha Kendra
आइतबार, २१ असार २०८३, ११:४७ AM
फन्ट
उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, ६८ हजार किसानले पाए राहत

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा उखु किसानले पाउनुपर्ने अधिकांश रकम भुक्तानी भइसकेको जनाएको छ। वर्तमान सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा सार्वजनिक गरिएको उपलब्धि विवरणअनुसार १३ वटा चिनी मिलमार्फत ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँमध्ये करिब ९२ प्रतिशत रकम भुक्तानी भइसकेको हो।

सरकारका अनुसार विगतमा उखु किसानले आफ्नो भुक्तानी पाउन ६ देखि ८ महिनासम्म कुर्नुपर्ने अवस्था रहेकामा यस वर्ष भने आर्थिक वर्षभित्रै भुक्तानी सुनिश्चित गर्ने व्यवस्था लागू गरिएको छ।

यस्तै, सरकारले उपलब्ध गराउने प्रति क्विन्टल ७० रुपैयाँका दरले करिब १ अर्ब ५२ करोड रुपैयाँ अनुदान सम्बन्धित निकायमा निकासा भइसकेको छ। उक्त रकम असार २५ भित्र किसानको बैंक खातामा जम्मा हुने क्रममा रहेको जनाइएको छ। बैंक खाता, प्यानलगायतका प्राविधिक विवरण नमिलेका कारण रोकिएका केही किसानको बाँकी रकमसमेत तत्काल भुक्तानी हुने व्यवस्था मिलाइएको सरकारको दाबी छ।

सरकारले कृषि क्षेत्रलाई थप व्यवस्थित बनाउन कृषि बजार सूचना प्रणाली सञ्चालन तथा चिस्यान केन्द्र स्थापनाका लागि बजेट व्यवस्था गरेको जनाएको छ। साथै, ‘स्वाइल हेल्थ कार्ड’ वितरणमाटो परीक्षण कार्यक्रम पनि अघि बढाइएको छ।

कृषिमा लगानी आकर्षित गर्न ३ करोड रुपैयाँसम्मको कृषि कर्जामा लागू हुने जोखिम भार ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको छ।

यस्तै, देशभरका किसानको विवरण विद्युतीय प्रणालीमा आबद्ध गर्ने अभियान अन्तर्गत लक्ष्य राखिएको २५ लाख ५८ हजार १९८ किसानमध्ये हालसम्म ७ लाख ५० हजार किसानको प्रमाणीकरण सम्पन्न भएको सरकारले जनाएको छ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न प्रभावित परिवारलाई राहत वितरणका साथै समस्या समाधानका लागि अध्ययन र आवश्यक पहलसमेत समितिमार्फत सक्रिय रूपमा अघि बढाइएको उल्लेख गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.