१% शुल्कबारे फैलिएको भ्रममा नपर्न आग्रह, नियमित शेयर कारोबारमा अतिरिक्त शुल्क नलाग्ने: हरि ढकाल

शेयर लगानीकर्ता एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले शेयर कारोबार गर्दा लगानीकर्ताबाट ब्रोकरले १ प्रतिशत कर वा शुल्क लिने भन्ने विषय हल्ला मात्र रहेको स्पष्ट पारेका छन्।

Artha Kendra Artha Kendra
सोमबार, १५ असार २०८३, १:१९ PM
फन्ट
१% शुल्कबारे फैलिएको भ्रममा नपर्न आग्रह, नियमित शेयर कारोबारमा अतिरिक्त शुल्क नलाग्ने: हरि ढकाल

काठमाडौं । शेयर लगानीकर्ता एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले शेयर कारोबार गर्दा लगानीकर्ताबाट ब्रोकरले १ प्रतिशत कर वा शुल्क लिने भन्ने विषय हल्ला मात्र रहेको स्पष्ट पारेका छन्।

ढकालले सोमबार आफ्नो फेसबुक पेजमार्फत पछिल्लो समय शेयर बजारमा फैलिएको भ्रमबारे धारणा सार्वजनिक गर्दै टीएमएस/नेप्सेमार्फत हुने नियमित दोस्रो बजार कारोबारमा कुनै नयाँ १ प्रतिशत शुल्क नलाग्ने बताएका हुन्।

‘पछिल्लो समय शेयर कारोबारमा १ प्रतिशत कर लाग्ने भनेर व्यापक बहस भइरहेको देखिएको छ। तर, एउटा कुरा स्पष्ट बुझ्न आवश्यक छ– लगानीकर्ताले टीएमएस/नेप्सेमार्फत दोस्रो बजारमा शेयर कारोबार गर्दा ब्रोकरले १ प्रतिशत कर वा शुल्क लिने होइन,’ ढकालले लेखेका छन्। उनका अनुसार दोस्रो बजारमा कारोबार गर्दा लाग्ने अन्तिम कर भनेको पुँजीगत लाभकर (सीजीटी) ७.५ प्रतिशत वा १० प्रतिशत नै हो।

उनले टीएमएसमार्फत नियमित कारोबार गर्ने लगानीकर्ताले १ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ भन्ने धारणा गलत रहेको उल्लेख गरेका छन्।

ढकालका अनुसार नियमित कारोबारमा पहिलेकै व्यवस्था अनुसार ब्रोकर कमिसन, सेबोन शुल्क, डीपी शुल्क तथा पुँजीगत लाभकर मात्र लाग्छ। यसमा कुनै नयाँ १ प्रतिशत शुल्क थपिएको छैन।

त्यस्तै, अफ–मार्केट कारोबारमा भने सेबोन वा नेपाल सरकारको नीतिअनुसार बकसपत्र, मृत्युपछिको नामसारी, कम्पनीको आन्तरिक ठूलो शेयर स्थानान्तरणलगायत सीडीएससीमार्फत हुने प्रत्यक्ष नामसारीमा मात्रै उक्त व्यवस्था लागू हुने उनले बताएका छन्।

यस विषयमा फैलिएको हल्ला र भ्रमले लगानीकर्तामा अनावश्यक अन्योल तथा डर सिर्जना गरेको उल्लेख गर्दै ढकालले आधिकारिक जानकारीका आधारमा मात्रै निष्कर्षमा पुग्न आग्रह गरेका छन्।

‘हल्लाको पछि नलागौँ, आधिकारिक जानकारीका आधारमा सत्य र यथार्थ बुझेर मात्र निष्कर्ष निकालौँ,’ उनले भनेका छन्।

ढकालले लगानीकर्तालाई संयमित भएर कारोबार गर्न र तथ्यमा विश्वास गर्न समेत आग्रह गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.