अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट त्रिविले १० करोडभन्दा बढी असुल्यो

अध्ययन बिदा लिएपछि सेवामा नफर्किने प्राध्यापकमाथि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक कारबाहीलाई तीव्र बनाएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २१ जेठ २०८३, १२:४ PM
फन्ट
अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट त्रिविले १० करोडभन्दा बढी असुल्यो

काठमाडौं, २१ जेठ । अध्ययन बिदा लिएपछि सेवामा नफर्किने प्राध्यापकमाथि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक कारबाहीलाई तीव्र बनाएको छ। विश्वविद्यालयले हालसम्म ४१ जना प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम असुल गरी पेन्सन कोषमा जम्मा गरेको जनाएको छ।

त्रिविका अनुसार अध्ययन बिदा लिएका १९१ जना प्राध्यापकमध्ये ४१ जनाले कबुलियतनामाअनुसार बुझाउनुपर्ने रकम फिर्ता गरिसकेका छन्। त्यसैगरी, ६२ जनाले रकम फिर्ता गर्न निवेदन दिएका छन् भने थप ५४ जनालाई असुली प्रक्रिया अघि बढाउन औपचारिक पत्राचार गरिएको छ।

अध्ययन बिदाको सुविधा लिएर सेवामा नफर्किने प्रवृत्ति बढेको भन्दै सरकार तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चासो व्यक्त गरेपछि त्रिविले छानबिन र रकम असुली प्रक्रिया अगाडि बढाएको हो। मन्त्रालयले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक तथा कर्मचारीबाट बिगो रकम अनिवार्य रूपमा असुल गर्न निर्देशन दिएको छ।

यस विषयमा छानबिन गर्न विश्वविद्यालय कार्यकारी परिषद्को २०८१ पुस २५ गतेको निर्णयअनुसार तीन सदस्यीय समिति गठन गरिएको थियो। समितिमा डा. काफ्ले संयोजक तथा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य रहेका छन्।

समितिले पेश गरेको प्रारम्भिक प्रतिवेदनमा अध्ययन बिदा प्रणालीमा व्यापक अनियमितता भएको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार करिब ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको पाइएको छ। तीमध्ये १९१ जना अध्ययन बिदापछि सेवामा नफर्किएको२०७ जना अध्ययन पूरा नगरी फर्किएको विवरण सार्वजनिक गरिएको छ।

त्रिविका अनुसार दुरुपयोगमा संलग्न प्राध्यापकबाट न्यूनतम १० लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म असुल गर्नुपर्ने अवस्था देखिएको छ। हालसम्म उठाइएको सम्पूर्ण रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.