श्रीकृष्ण विकको हिरासतमा मृत्यु प्रकरणमा १० प्रहरीलाई कारबाहीको सिफारिस

इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवान सम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, १२ जेठ २०८३, ५:३० PM
फन्ट
श्रीकृष्ण विकको हिरासतमा मृत्यु प्रकरणमा १० प्रहरीलाई कारबाहीको सिफारिस

काठमाडौं । इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवान सम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ ।

हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको हो । 

जसमध्ये १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाई सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत र १ जनालाई ग्रेड घटुवा गर्ने समितिले सिफारिस गरेको छ । 

साथै समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ । कुनै पनि असामान्य गतिविधि तुरून्तै रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न लगाउने, विशेषत: अन्तर्जातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाब उत्पन्न हुन सक्ने घटनाहरूमा आवश्यक तथ्य संकलन, पक्षहरू एवम् परिवारजनसँग समन्वय तथा अनुसन्धान सम्बन्धी निर्णयहरूमा कार्यलय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता सुनिश्चितता गर्न समितिले सुभाव दिएको छ । 

यसैगरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउँदै मुद्दा चलाउने कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन, घटना एवम् सूचना व्यवस्थापन तथा समन्वयलाई थप सुदृढ गर्न सचेत गराई प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण, हिरासत अवस्थाको नियमित मूल्याङकन तथा सुधारमुखी कार्य योजना कार्यान्वयन गर्न समेत समितिले सुझाव दिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.