हिमालयन रिइन्स्योरेन्सले अब पुनर्बीमा व्यवसाय गर्न नपाउने

नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६(१) अनुसार हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। कम्पनीले पूर्व-बीमा दाबी भुक्तानी दायित्व पूरा नगरेको भन्दै यो निर्णय भएको हो।

Artha Kendra Artha Kendra
बिहिबार, ३१ बैशाख २०८३, ९:४१ AM
फन्ट
हिमालयन रिइन्स्योरेन्सले अब पुनर्बीमा व्यवसाय गर्न नपाउने

नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड (HRL) लाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम कम्पनीलाई यो निर्देशन दिएको जनाएको हो।

सूचनाअनुसार कम्पनीले पूर्व-बीमा दाबी भुक्तानी गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै २०८२/८३ को असार मासान्तसम्मको लागि यस्तो निर्णय गरिएको हो। यद्यपि, यसअघि स्वीकृत भइसकेका पुनर्बीमा व्यवसायसँग सम्बन्धित दायित्व तथा व्यवस्थापनका काम भने कम्पनीले गर्न पाउने उल्लेख गरिएको छ।

स्पष्टीकरणको प्रक्रिया चलिरहेको

यसअघि प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित पाँच जना उच्च व्यवस्थापनका अधिकारी सँग स्पष्टीकरण माग गरेको थियो। कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंका मा प्राधिकरणले स्पष्टीकरण मागेको थियो।

सम्पत्ति शुद्धीकरण विभागको पनि निर्देशन

सम्पत्ति शुद्धीकरण विभागले पनि फागुन २८ गते प्राधिकरणलाई पत्राचार गर्दै व्यवसायी दिपक भट्ट का लागि नेपाल पुनर्बीमा कम्पनी लगायत विभिन्न कम्पनीहरूको शेयर खरिदका लागि हिमालयन रिइन्स्योरेन्स तथा यससँग सम्बद्ध संस्थाबाट रु. ३ अर्ब ८१ करोडभन्दा बढी रकम दुरुपयोग भएको आशंकामा आवश्यक छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

मम

मोहन महतो

·

अब लगानीकर्ता ले एचआरएल लाई के गर्ने के फेरि बीमा कम्पनी सुचारु होला त भएका सेयरहरू के होलान्