स्याम्सङका पूर्व अध्यक्षको परिवारले बुझायो १२ ट्रिलियन वोन ($8 Billion) बराबरको उत्तराधिकार कर
दक्षिण कोरियाको स्याम्सङ ग्रुपका दिवंगत चेयरम्यान ली कुन-हीको पाँच वर्ष लामो उत्तराधिकार कर भुक्तानी प्रक्रिया सम्पन्न भएको छ। उनको परिवारले १२ ट्रिलियन वोन (करिब ८ अर्ब अमेरिकी डलर) बराबरको सम्पत्ति कर पूरा भुक्तान गरेर त्यस देशको इतिहासमै सबभन्दा ठूलो उत्तराधिकार कर तिर्ने रेकर्ड कायम गरेको छ।
यो रकम दक्षिण कोरियाले सन् २०२४ मा संकलन गरेको कुल ८.२ ट्रिलियन वोन उत्तराधिकार कर राजस्वको करिब डेढ गुणा (५० प्रतिशत बढी) हो। यसैकारण विश्लेषकहरूले यसलाई एउटै परिवारबाट तिरिएको ‘ऐतिहासिक’ कर भुक्तानीका रूपमा हेरेका छन्।
स्याम्सङ इलेक्ट्रोनिक्सका चेयरम्यान ली जे-योङ, उनकी आमा होङ रा-ही (लियम संग्रहालयकी अवैतनिक निर्देशक), बहिनीहरू ली बु-जिन (होटेल शिल्ला अध्यक्ष) र ली सो-ह्युन (स्याम्सङ सीएन्डटी अध्यक्ष) गरी चार जना उत्तराधिकारीले यो भार बेहोरेका छन्। उनीहरूले सन् २०२१ अप्रिलमा पहिलो किस्ता तिरेपछि ‘डिफर्ड पेमेन्ट’ योजना अन्तर्गत ६ किस्तामा कर भुक्तानी सक्काएका हुन्।
व्यक्तिगत रूपमा हेर्दा, होङ रा-हीले ३.१ ट्रिलियन वोन (२.१ अर्ब डलर), ली जे-योङले २.९ ट्रिलियन वोन (२.० अर्ब डलर), ली बु-जिनले २.६ ट्रिलियन वोन (१.८ अर्ब डलर) र ली सो-ह्युनले २.४ ट्रिलियन वोन (१.६ अर्ब डलर) कर तिरेका छन्।
यो उत्तराधिकार कर सन् २०२० अक्टोबरमा निधन भएका चेयरम्यान ली कुन-हीको करिब २६ ट्रिलियन वोन बराबरको सम्पत्ति मा लागेको थियो। उक्त सम्पत्तिमा स्याम्सङ इलेक्ट्रोनिक्स, स्याम्सङ सीएन्डटी, स्याम्सङ लाइफ इन्सुरेन्स लगायतका सेयर, घरजग्गा र संसारको चर्चित निजी कला संग्रहहरू समावेश थिए।
कर तिर्ने क्रममा ली परिवारले मुख्य कम्पनीका सेयर बेच्नबाट भने जोगिएको छ। ली जे-योङले अधिकांश दायित्व लाभांश आम्दानी र व्यक्तिगत ऋण मार्फत बेहोरेका थिए। यसैले समूहमाथिको पारिवारिक नियन्त्रण कमजोर बनाउनुको सट्टा झन् बलियो भएको कोरियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
उत्तराधिकार पछाडि ली जे-योङको स्याम्सङ इलेक्ट्रोनिक्समा साधारण सेयर हिस्सा ०.७० प्रतिशतबाट १.६७ प्रतिशत पुगेको छ। त्यसैगरी स्याम्सङ सीएन्डटी (समूहको ‘डि-फ्याक्टो’ होल्डिङ कम्पनी) मा उनको हिस्सा १७.४८% बाट २२.०१% पुगेको छ भने स्याम्सङ लाइफ इन्सुरेन्समा त ०.०६% बाट उछिनिएर १०.४४% पुगेको छ। यसले उनको रणनीतिक नियन्त्रण थप पुष्टि गरेको छ।
ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्स अनुसार, यस वर्ष मार्चसम्म आइपुग्दा ली परिवारको कुल सम्पत्ति ४५.५ अर्ब डलर पुगेको छ — एक वर्षअघिको करिब २०.१ अर्बबाट दोब्बरभन्दा बढी। यो उछालसँगै यो परिवार एसियाको तेस्रो धनी परिवार बनेको छ; अघिल्लो वर्ष यो दशौं स्थानमा थियो। ली जे-योङको व्यक्तिगत सम्पत्ति २६.९ अर्ब डलर पुगेको छ।
दक्षिण कोरियाको उच्च सम्पत्ति कर दर (अधिकतम ५० प्रतिशत; नियन्त्रक हिस्सेदारीमा प्रिमियमसहित ६० प्रतिशतसम्म) लाई हेर्दा यो भुक्तानी ‘धनी कर’ नीतिको सबभन्दा ठूलो उदाहरण मानिएको छ। विश्लेषकहरूले यो प्रकरणलाई एसिया–प्रशान्त क्षेत्रका अन्य ठूला परिवारिक व्यवसायिक समूहका लागि उत्तराधिकार योजना (सक्सेसन प्लानिङ) को उदाहरणका रूपमा लिइने अनुमान गरेका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.