ऐलानी जग्गामा सांसद केपी खनालको तीन तले घर, भत्काउनु पर्ने भन्दै सामाजिक सञ्जालबाट दबाब

आइतबार, २० बैशाख २०८३, ९:५० AM
post-image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य केपी खनाल ऐलानी जग्गामा घर निर्माण गरेको विषयले विवादमा परेका छन्। कैलाली–२ बाट निर्वाचित खनालको लम्कीचुहा नगरपालिका–१, बसपार्क नजिक साढे तीन तले घर निर्माणाधीन अवस्थामा रहेको छ। उक्त घर सार्वजनिक वा ऐलानी जग्गामा बनेको आरोप सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ।

बालेन शाह प्रधानमन्त्री बनेपछि देशभर सरकारी र सार्वजनिक जग्गामा बनेका संरचना भत्काउने अभियान चलिरहेको बेला उनकै विश्वास पात्र मानिने सांसदकै घर पनि सोही दायरामा परेपछि — “अब त्यो घरको के हुन्छ?” भन्ने प्रश्न सामाजिक सञ्जालमा उठ्न थालेको छ। काठमाडौंलगायत देशका विभिन्न ठाउँमा अतिक्रमित जग्गाका संरचना हटाइरहेको सरकारले खनालमाथि पनि उस्तै कारबाही गर्नुपर्ने माग आइरहेको हो।

खनालको सचिवालयले भने आरोपहरूलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएको छ। सचिवालय सदस्य हर्क पुनका अनुसार सामाजिक सञ्जालमार्फत नियोजितरूपमा खनालको छवि बिगार्ने प्रयास भइरहेको छ। उनले खनालका अभिभावकले भारतमा काम गरेर उक्त घर निर्माण गरेको उल्लेख गर्दै, “त्यहाँ बस्न नपाउने” भन्ने तर्क उचित नभएको बताए।

तर खनालको परिवार बसोबास गरिरहेको घर ऐलानी जग्गामै निर्माण भएको कुरा सचिवालयले स्वीकार गरेको छ। लम्कीचुहा क्षेत्रमा धेरै स्थानीय यस्तै जग्गामा बसोबास गरिरहेको र उनीहरूले लालपुर्जा प्राप्तिका लागि प्रक्रिया अघि बढाएको जनाइएको छ। भूमि आयोगमार्फत नामसारी प्रक्रिया पूरा भइसके पनि हालसम्म लालपुर्जा प्राप्त नभएको सचिवालयले बताएको छ।

ऐलानी जग्गा भनेको कुनै व्यक्ति वा संस्थाको नाममा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नभएको तर लामो समयदेखि भोगचलन गरिआएको वा राज्यको स्वामित्वमा रहेको सरकारी तथा सार्वजनिक जग्गा हो। यस्तो जग्गाको स्वामित्व पूर्णतः सरकारको हुन्छ र सरकारी अभिलेखमा वन वा पर्ती जग्गाका रूपमा जनिएको हुन सक्छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}