ई-बिडिङ ह्याक प्रकरण: ठेक्का हत्याउने ठेकेदार धमाधम पक्राउ — पूर्व मन्त्री विक्रम पाण्डेसहित १३ जना सीआईबीको कब्जामा

बुधबार, १६ बैशाख २०८३, ९:५३ PM
post-image

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय खरिद प्रणाली (ई–जीपी) ह्याक गरी ठेक्काको आर्थिक प्रस्ताव हेरफेर गर्ने प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कारबाही दिनहुँ बढ्दै गएको छ। आजसम्म पूर्व सहरी विकास मन्त्री विक्रम पाण्डेसहित १० निर्माण व्यवसायी र अन्य ३ गरी कुल १३ जना पक्राउ परिसकेका छन्।

सीआईबीका अनुसार ह्याकरहरूले ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअगाडि नै ‘फाइनान्सियल बिड’ डकुमेन्ट परिवर्तन गरी आफू वा आफ्नो रोजाइको कम्पनीलाई ठेक्का पार्ने गरेका थिए। शुरुमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरू भएको यो प्रकरणमा योजनाबद्ध रूपमा गिरोह नै संलग्न देखिएपछि अहिले ‘संगठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गत कसुर परिवर्तन गरेर अनुसन्धान अघि बढाइएको छ।

पहिलो लट (२०८२ चैतको अन्त्यतिर) — ६ जना पक्राउ: दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्कर राज अर्याल, सागर कटुवाद्य र जीवन कुमार दास । सीआईबीले उनीहरूलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको थियो। उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत अनुसन्धान भइरहेको छ।

दोस्रो लट — २०८३ वैशाख ११ (अप्रिल २४, शुक्रबार): ३ जना पक्राउ। छपुर निर्माण सेवा प्रालिका सञ्चालक अमृत बोहोरालाई अघिल्लो दिनै नियन्त्रणमा लिइसकेपछि उही दिन कलिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक तथा राप्रपा वरिष्ठ उपाध्यक्ष ७४ वर्षीय विक्रम पाण्डेलाई चन्दोलबाट र भिषण कन्स्ट्रक्सन प्रालिका सञ्चालक ६४ वर्षीय टंककुमार श्रेष्ठलाई समाखुसीबाट पक्राउ गरियो। सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार दुवैलाई काठमाडौँ जिल्ला अदालतको पक्राउ अनुमतिपछि मात्र हिरासतमा लिइएको हो।

तेस्रो लट — २०८३ वैशाख १३ (अप्रिल २६): २ जना पक्राउ। सिराहाको लहान–९ स्थायी ठेगाना भई हाल भक्तपुरको सूर्यविनायक–३ बस्दै आएका ३० वर्षीय स्वदेश पोखरेल (इन्कोन प्रालिका शेयरधनी तथा लेखापाल) लाई काठमाडौंको पेप्सिकोला क्षेत्रबाट र नुवाकोटको ककनी–३ स्थायी घर भई काठमाडौं बालाजु–१६ बस्दै आएका ४५ वर्षीय प्रकाश ढुंगाना (कल्पवृक्ष बिल्डर्स प्रालि सञ्चालक) लाई बालाजुबाट सीआईबीले पक्राउ गर्‍यो।

चौथो लट — २०८३ वैशाख १६ (अप्रिल २९, बुधबार आज): १ जना पक्राउ। चितवनको रत्ननगर–१२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ–९, मण्डिखाटार बस्दै आएका ७० वर्षीय ऋषिकेश गौली — आशिष निर्माण सेवा प्रालिका सञ्चालक — लाई आज पुरानो बानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो। गौलीले पनि ‘ई–जीपी’ प्रणालीमा अनधिकृत प्रवेश गरी आर्थिक प्रस्ताव खोल्नुअगावै डकुमेन्ट हेरफेर गर्ने गरेको उजुरी परेको थियो।

सीआईबीका अनुसार ह्याक प्रकरणमा संलग्न अन्य प्राविधिक तथा बिचौलियाहरूको भूमिकाबारे थप अनुसन्धान जारी छ। पूर्व मन्त्री पाण्डेका छोरा र कलिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक तथा नेपाल ठेकेदार महासंघका अध्यक्ष निकोलस पाण्डेको संलग्नताबारे पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै १३ जनामाथि अब संगठित अपराधको कसुरमा विस्तृत अनुसन्धान चलिरहेको सीआईबीले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}