अब अनलाइनबाटै एउटा खाताको शेयर अर्को खातामा सार्न सकिने, यसले बजारमा कस्तो असर पर्ला?
यसले उधारो कारोबारमा कमी ल्याएर समग्र बजारमा असर पुर्याउन सक्छ भन्ने प्रश्न जन्माएको छ भने प्रणाली लागू सँगै संभावित दुरुपयोग रोक्न के कस्तो कदम चलाइन्छ भन्ने विषयमा पनि चासो उब्जाएको छ।
अब दुई वटा सेयर खाता (डिम्याट अकाउन्ट) रहेका लगानीकर्ताहरू आफैंले एउटाबाट अर्कोमा सेयर सार्न पाउने भएका छन्।
दुई वटा डिम्याट खाता रहेका लगानीकर्ताहरूलाई सेयर सार्न अहिलेको प्रक्रिया झन्झटिलो भएपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले यस्तो प्रणाली अभ्यासमा ल्याउन लागेको हो।
सेयर खाताको व्यवस्थापन र कारोबारपछि सेयरको राफसाफ प्रक्रिया सिडिएससीको प्रणालीमार्फत् सम्पन्न हुन्छ।
लगानीकर्ताले बैंकका सहायक कम्पनी मर्चेन्ट बैंकर र सेयर ब्रोकर जहाँबाट पनि डिम्याट खाता खोल्न सक्छन्। एउटै लगानीकर्ताले अहिले दुई वटासम्म डिम्याट खाता खोल्न पाउँछन्। तर सेयर कारोबार गर्ने खाता भने ब्रोकरकहाँ मात्रै खोल्न पाइन्छ।
अहिले यी दुवै संस्थामा डिम्याट खाता भएको कुनै लगानीकर्ताले एउटा खाताबाट आफ्नो अर्को खातामा सेयर सार्न परेमा प्रणालीबाटै सार्न सक्दैनन्।
उदारहणको लागि, कुनै लगानीकर्ताले मर्चेन्ट बैंकरमा रहेको सेयर आफ्नो अर्को खातामा सार्न परेमा मर्चेन्ट बैंकर कहाँ पुगेर एउटा फारम भर्नुपर्छ। यसरी सेयर सार्न भरिएको फारम मर्चेन्ट बैंकरका कर्मचारीले सिडिएससीमा पुर्याएर प्रमाणित गरेपछि मात्रै सेयर खरिद गरेको व्यक्तिको खातामा सार्न सकिन्छ।
'एउटै व्यक्तिको मर्चेन्ट बैंकर र ब्रोकर दुवैमा खाता रहेको अवस्थामा यसरी सेयर सार्न सकिने व्यवस्था गर्न लागेका हौं,' सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले भने, 'यसले लगानीकर्तालाई भौतिक रूपमै मर्चेन्ट बैंकरकहाँ उपस्थित हुने र प्रक्रिया अगाडि बढाउने झण्झटबाट मुक्ति दिनेछ।'
लगानीकर्ताहरूले कारोबार गरिरहेको ब्रोकर संस्था परिवर्तन गर्दा यसरी आफ्नै खातामा रहेको सेयर अर्कोमा सार्ने अभ्यास छ। अहिले हरेक दिन यसरी सेयर सार्न लगानीकर्ताहरूको चाप पर्न थालेसँगै सिडिएससीले यसलाई सरल बनाउन लागेको हो।
तर यो नयाँ प्रक्रियापछि उधारो कारोबार गर्ने लगानीकर्ताहरूको कारण आफूहरूलाई समस्या पार्न सक्ने ब्रोकरहरूले बताउन थालेका छन्।
मानौं, कुनै लगानीकर्ताले सात लाख रूपैयाँको सेयर किन्यो तर पाँच लाख मात्रै भुक्तानी दियो। अब लगानीकर्ताले ब्रोकरलाई भन्न सक्छ, यसरी किनेको सेयर मेरो खातामा हाल्दिनुस् म भोलि नै बेचेर बाँकी पैसा तिर्छु।
यस्तोमा उसको मर्चेन्ट बैंकरकोमा खोलेको खातामा सेयर जम्मा हुने अवस्था छ भने पनि भोलिपल्टै उसले ब्रोकरकहाँ खोलेको खातामा सेयर सार्न सक्ने भयो। सेयर भनेकै दिन भाउ नआएर बिक्री भएन भने पनि ब्रोकर आफ्नैमा खोलेको खातामा सेयर छँदैछ नि भनेर ढुक्क हुन सक्ने भयो।
तर, यदि सोही लगानीकर्ताले तिनुपर्ने भुक्तानी नै नदिई पहिले ब्रोकरकोमा सारेको सेयर फेरि पुरानै खातामा सार्यो भने के गर्ने भन्ने दुविधा रहेको हो। त्यसैले यसले ब्रोकरहरूबाट हाल भइरहेको उधारो कारोबार रोक्का हुने अनुमान गरिएको हो।
अहिले अनलाइनबाट कारोबार गर्दा खरिदकर्ताले कुल किन्ने सेयर मूल्यको २५ प्रतिशत रकम जम्मा गरेपछि खरिद आदेश दिनसक्छ। भौतिक रूपमा वा फोनमार्फत् कारोबार गर्नेले भने कुनै रकम जम्मा नगरी सेयर किन्ने आदेश दिनसक्छ।
कारोबारपछिको दुई दिनभित्र लगानीकर्ताले अनिवार्य रकम बुझाउँनै पर्ने व्यवस्था छ। तर, अहिले ब्रोकरसँग राम्रो सम्बन्ध भएका लगानीकर्ताहरूले तोकिएकै समयमा रकम भुक्तानी नगर्न पनि सक्छ। यस्तोमा ब्रोकरले नै लगानीकर्ताको तर्फबाट रकम तिरिदिएको हुन्छ। किनभने रकम नदिई राफसाफ प्रक्रिया रोक्न मिल्दैन।
लगानीकर्ताले आफैंले यसरी सेयर सार्ने अभ्यास कार्यान्वयनमा आएमा भने ब्रोकरहरूलाई समस्या पर्न सक्नेमा केही ब्रोकरहरूको चासो हो। तर, सिडिएससीको प्रणालीले उधारो कारोबार नचिन्ने भएकोले ब्रोकरहरूले नै यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
त्यसबाहेक लगानीकर्ताले यसरी सेयर सारे पनि तत्कालै सोही दिन नै बिक्री नहुने भएकोले ब्रोकरले सतर्कता अपनाएमा यो ठूलो समस्या नहुने सिडिएससी बताउँछ। यद्यपी, हाल यो प्रक्रियाको बारेमा छलफल नै चलिरहेकोले ब्रोकरहरूसँग यसमा आउने व्यावहारिक समस्याका विषयमा पनि छलफल गरिने सिडिएससीका प्रमुख सूचना अधिकारी सुरेश न्यौपानेले बताए।
हामीले लगानीकर्तालाई यसले बजारमा कस्तो असर पर्न सक्ला भनी प्रश्न गर्दा एक लगानीकर्ता भन्छन "अहिलेको बजार ८० प्रतिशतभन्दा बढी उधारोमा कारोबार भएको बताइन्छ, यसरी अनलाइनबाटै शेयर सार्न सकियो भने कारोबार राफसाफ नगरी कुनै व्यक्तिले अर्को खातामा शेयर ट्रान्सफर गर्ने डरले ब्रोकेरले उधारो कारोबार गर्न नदिन सक्छन् र कारोबार मा कमी आउन सक्छ, यसरी हेर्दा यसको समाधान गर्ने कुनै उपाय नसोची प्रणाली लागू भएमा बजारमा ठूलै असर पर्न सक्छ"।
यसले उधारो कारोबारमा कमी ल्याएर समग्र बजारमा असर पुर्याउन सक्छ भन्ने प्रश्न जन्माएको छ भने प्रणाली लागू सँगै संभावित दुरुपयोग रोक्न के कस्तो कदम चलाइन्छ भन्ने विषयमा पनि चासो उब्जाएको छ।