सुकुम्बासी बस्ती खाली गराउने उर्दीले सरकारको असली चरित्र नाङ्गो भयो- महेश बस्नेत

बिहिबार, १० बैशाख २०८३, ११:६ AM
post-image

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउने सरकारी निर्णयप्रति कडा प्रतिक्रिया दिदै सरकारको असली चरित्र नाङ्गो भएको टिप्पणी गरेका छन् ।

उनले सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले बस्ती खाली गराउन निर्देशन दिएको भन्दै यसले सरकारको वास्तविक चरित्र उजागर गरेको आरोप लगाए ।

बस्नेतले निर्वाचनअघि सुकुम्बासी बस्ती जोगाउने प्रतिबद्धता व्यक्त गरिएको स्मरण गराउँदै अहिलेको कदम त्यसकै विपरीत भएको बताए । उनले सुकुम्बासीलाई व्यवस्थापन गर्नुको साटो हटाउने नीति अपनाइएको भन्दै प्रश्न उठाएका छन् ।

उनले भनेका छन्- ' निर्वाचनको मुखमा उहाँकै दलका सभापति रवि लामिछानेले “सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु” भनेर ठूलो भाषण दिदै प्रतिवद्धता जायर गर्नुभएको थियो । आज त्यो प्रतिबद्धता कहाँ गयो ? जनतालाई भ्रममा राख्ने भाषणमा मात्रै सिमित हो त ?'

उनका अनुसार सडक विस्तार र फुटपाथ व्यवस्थापनका नाममा साना व्यवसायी र स्थानीयवासीमाथि अन्याय भइरहेको छ । साथै, भन्सारमा कडाइ गर्दा गरिब वर्ग थप मारमा परेको उनले उल्लेख गरे । 

सरकारका पछिल्ला निर्णयहरूले लोकतान्त्रिक अभ्यास कमजोर बनाउँदै अधिनायकवादी शैलीतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले यस्तो नीति जनविरोधी भएको टिप्पणी गरे । उनले जनताले यस्ता कदम लामो समयसम्म सहेर नबस्ने चेतावनी समेत दिएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}