देशभरका अस्पतालमा एमआरआई र सिटी स्क्यान जस्ता महँगा उपकरणको अवस्था अध्ययन गर्न समिति गठन

आइतबार, २९ चैत २०८२, ५:५१ PM
post-image

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा जडान गरिएका महँगा मेडिकल उपकरणहरूको प्रयोग र सुरक्षासम्बन्धी विस्तृत अध्ययन तथा अनुगमन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब र पेट सिटी स्क्यान जस्ता उपकरणहरूको अवस्था, प्रयोग विधि र गुणस्तरबारे अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न विज्ञ टोली गठन गरेको छ । उक्त टोलीमा वीर अस्पतालका मेडिकल फिजिसिस्ट डा. कञ्चन प्रसाद अधिकारी र रेडियोलोजिस्ट डा. हरिओम जोशी रहेका छन् ।

मन्त्रालयको निर्णयअनुसार टोलीले आवश्यक परे स्थलगत अनुगमनसमेत गर्नेछ । अध्ययनको मुख्य उद्देश्य उपकरणहरूको सही प्रयोग भइरहेको छ वा छैन भन्नेबारे यथार्थ अवस्था बुझ्नु हो ।

मन्त्रालयले अध्ययनका क्रममा विशेष गरी चार विषयमा ध्यान दिन निर्देशन दिएको छ । तीमध्ये एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब र पेट सिटी स्क्यान जस्ता उपकरणहरूको प्रयोग र गुणस्तर अवस्था पहिलो प्राथमिकतामा रहनेछ ।

त्यस्तै, विकिरणसम्बन्धी काम गर्ने प्राविधिकहरूले व्यक्तिगत विकिरण मापन उपकरण प्रयोग गरे नगरेको तथा ती उपकरण नियमित रूपमा परीक्षण गरिएको छ कि छैन भन्ने पनि जाँच गरिनेछ ।

यसैगरी, एक्स-रे र सिटी स्क्यान जस्ता विकिरण उत्सर्जन गर्ने कोठा वरिपरि मापदण्डअनुसार विकिरण सर्भेक्षण गरिएको छ कि छैन भन्ने विषय पनि अनुगमनको दायरामा रहनेछ ।

मन्त्रालयले बिरामी तथा स्वास्थ्यकर्मीलाई विकिरणबाट सुरक्षित राख्न अपनाइएका सुरक्षा उपायहरूको प्रभावकारिताबारे पनि मूल्यांकन गर्न निर्देशन दिएको छ । स्वास्थ्य सेवामा प्रयोग हुने संवेदनशील उपकरणहरूको उचित प्रयोग सुनिश्चित गर्न यो अध्ययन महत्वपूर्ण हुने मन्त्रालयले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}