विवादपछि श्रममन्त्री दीपककुमार साह हटाउने तयारी
२६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन् । मन्त्री नियुक्त भएको झण्डै दुई हप्तामै विभिन्न विवादमा तानिएपछि उनलाई हटाउने प्रक्रिया अघि बढाइएको हो ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार साहका गतिविधि मन्त्रालयको स्वार्थसँग बाझिने खालका देखिएको तथा शंकास्पद काममा संलग्न भएको सूचना प्राप्त भएपछि यस्तो निर्णयको तयारी गरिएको हो । उनीविरुद्ध विगतमा एजुकेसन कन्सल्टेन्सीसँग सम्बन्धित विवाद तथा एमबीबीएसमा नाम निकालिदिने भन्दै पैसा उठाएको आरोपमा पक्राउ पुर्जी जारी भएको विषयसमेत सार्वजनिक भएको छ ।
यस्तै, उनकी श्रीमती जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्यको हैसियतमा पुनः बैठकमा सहभागी भएको विषयले पनि थप विवाद सिर्जना गरेको छ । यसअघि उनी लगातार ११ बैठकमा अनुपस्थित रहेको भन्दै पदबाट हटाइएकी थिइन् ।
विवाद चर्किएपछि सत्तारूढ दलभित्र पनि मन्त्री साहबारे प्रश्न उठेको छ । पार्टी सभापति रवि लामिछानेले समेत यस विषयमा प्रधानमन्त्रीलाई पत्र लेख्दै साहलाई जिम्मेवारीबाट अलग गर्न सुझाव दिएको स्रोतले जनाएको छ ।
