इन्धन संकटपछि पाकिस्तानमा कडा प्रतिबन्ध, राती १० बजेपछि कुनै कार्यक्रम गर्न नपाइने
काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावका बीच पाकिस्तानले इन्धन संकट बढेपछि देशभर कडा प्रतिबन्ध लागू गरेको छ ।
प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बसेको बैठकपछि मंगलबारदेखि नयाँ नियम कार्यान्वयनमा ल्याइएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार अब अधिकांश स्थानमा बजार र सपिङ मल राति ८ बजेसम्म मात्र खुला रहनेछन् ।
रेस्टुरेन्ट, बेकरी तथा अन्य खानेकुरा पसलहरू राति १० बजेसम्म बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै विवाह मण्डप र अन्य व्यवसायिक स्थलहरू पनि राति १० बजेपछि सञ्चालन गर्न नपाइने भएको छ ।
सरकारले निजी रूपमा हुने विवाह तथा कार्यक्रममाथि समेत कडाइ गरेको छ । अब घर वा निजी स्थानमा पनि राति १० बजेपछि कुनै कार्यक्रम गर्न पाइने छैन । यद्यपि औषधि पसल तथा फार्मेसीलाई भने यस प्रतिबन्धबाट छुट दिइएको छ ।
खाडी क्षेत्रमा जारी तनावका कारण विश्वव्यापी इन्धन आपूर्तिमा असर परेको र त्यसैको प्रभाव पाकिस्तानमा देखिएको जनाइएको छ । खपत घटाउन र अवस्था नियन्त्रणमा राख्न सरकारले यस्तो निर्णय गरेको हो ।