ओरेकलले एकैपटक हटायो करिब ३० हजार कर्मचारी

शुक्रबार, २० चैत २०८२, ११:४१ AM
post-image

काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी ओरेकलले करिब ३० हजार कर्मचारीलाई एकैपटक जागिरबाट हटाएको छ । तीमध्ये करिब १२ हजार कर्मचारी भारतका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले अर्को चरणको कटौती पनि चाँडै सुरु गर्न सक्ने संकेत देखिएको छ ।

रिपोर्टका अनुसार कर्मचारीहरूले बिहान इमेलमार्फत सेवाबाट हटाइएको सूचना पाएका थिए । सोही दिनलाई अन्तिम कार्यदिवस तोकिएको र केही समयमै कार्यालयका सबै प्रणालीमा पहुँच बन्द गरिएको थियो । कम्पनीले भने हालसम्म यस्तो निर्णयको स्पष्ट कारण सार्वजनिक गरेको छैन ।

कर्मचारीलाई पठाइएको सन्देशमा कम्पनीको वर्तमान आवश्यकताअनुसार संगठनमा ठूलो परिवर्तन गर्दै पद कटौती गरिएको उल्लेख गरिएको छ । साथै, कामप्रतिको योगदानका लागि धन्यवाद दिँदै आवश्यक प्रक्रिया पूरा गरेपछि सेवा अन्त्य सुविधा उपलब्ध गराइने पनि जनाइएको छ ।

कम्पनीका एक वरिष्ठ अधिकारीले सामाजिक सञ्जालमार्फत वरिष्ठ इन्जिनियर, प्राविधिक विशेषज्ञ, कार्यक्रम व्यवस्थापक लगायतका कर्मचारी प्रभावित भएको बताएका छन् । उनले यो निर्णय कार्यसम्पादनका आधारमा नभएको स्पष्ट पारेका छन् ।

यसबीच, केही रिपोर्टमा कम्पनीले कृत्रिम बौद्धिकता क्षेत्रमा ठूलो लगानी गरिरहेको र त्यसकै कारण कर्मचारी संख्या घटाइएको उल्लेख गरिएको छ । नयाँ प्रविधिको प्रयोगले कम जनशक्तिबाट बढी काम गर्न सकिने भएकाले यस्तो कदम चालिएको बताइएको छ ।

विशेषज्ञहरूले यसलाई ‘लुकेर गरिने जागिर कटौती’ का रूपमा व्याख्या गरेका छन्, जहाँ कम्पनीहरूले ठूलो घोषणा नगरी विस्तारै कर्मचारी घटाउँदै जान्छन् । पछिल्ला महिनामा अन्य ठूला प्रविधि कम्पनीहरूमा पनि यस्तै प्रवृत्ति देखिएको छ ।

ओरेकल सन् १९७७ मा स्थापना भएको अमेरिकी कम्पनी हो, जसले डेटा व्यवस्थापन र क्लाउड सेवा प्रदान गर्दै आएको छ । विश्वभरका बैंक, सरकारी निकाय र ठूला व्यवसायहरूले यसको प्रविधि प्रयोग गर्दै आएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}