काठमाडौँ महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

बिहिबार, १९ चैत २०८२, ९:११ PM
post-image

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् । 

कार्यवाहक प्रमुख सुनिता डंगोल भन्छिन्- ' बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ । सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ । त्यसमा पनि किशारी र महिलाहरुले दुव्र्यवहार भोग्नु परेको छ । विद्यार्थीहरुलाई आर्थिक रुपमा धेरै मर्का छ । यो अवस्थामा सुधार गर्न  सेवा दिन लागेका हौँ ।’ 

सेवा प्रारम्भ गर्दा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बसहरु सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरुमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुने बताइएको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}