क्रिमियामा रुसी सैन्य विमान दुर्घटना, सवार सबै २९ जनाको मृत्यु
काठमाडौँ । रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त हुदा सवार २३ यात्रु र ६ चालक दलका सदस्य सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
रुसी समाचार एजेन्सी तासका अनुसार सुरुमा विमानसँग सम्पर्क विच्छेद भएको थियो । त्यसपछि विमान चट्टानमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको कारण प्राविधिक खराबी हुनसक्ने आशंका गरिएको छ । यद्यपि यसको आधिकारिक पुष्टि भने अझै भइसकेको छैन र विस्तृत अनुसन्धान जारी रहेको तासले उल्लेख गरेको छ ।
उक्त विमान सोभियत कालमा निर्माण गरिएको सैन्य ढुवानी विमान हो, जसलाई एन्तोनोभ कम्पनीले बनाएको हो। यसको पहिलो उडान सन् १९६९ मा भएको थियो । एएन–२६ विमान मुख्य रूपमा सैनिक, हतियार तथा सैन्य सामग्री ओसारपसारका लागि प्रयोग गरिन्छ । यसले एकैपटक धेरै सैनिक वा भारी सामान बोक्न सक्ने क्षमता राख्छ ।
यस विमानको विशेषता भनेको सानो तथा कमजोर धावनमार्गबाट समेत उडान भर्न सक्ने क्षमता हो । त्यसैले दुर्गम तथा युद्ध क्षेत्रहरूमा यसको व्यापक प्रयोग हुँदै आएको छ । पछाडिको ठूलो ढोकाबाट हवाईमार्फत सामग्री झार्ने कार्य पनि गर्न सकिन्छ ।
तर ५० वर्षभन्दा पुरानो डिजाइन भएका कारण यसको सुरक्षामाथि प्रश्न उठ्दै आएका छन् । हालसम्म पनि विभिन्न देशहरूले यस प्रकारका विमान प्रयोग गरिरहेका भए पनि क्रमशः आधुनिक ढुवानी विमानले यसलाई प्रतिस्थापन गर्ने प्रक्रिया जारी रहेको छ ।