भारतबाट व्यापकरुपमा बढेर आयोग इन्धनको मुल्य, निगमले हवाई इन्धनमा मात्र बढायो
काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको जानकारी दिएको छ ।
निगमले पेट्रोलको मूल्यमा प्रति लिटर ४१. ६०, डिजलमा प्रतिलिटर ९४. ९३ तथा हवाई इन्धनमा प्रति लिटर १२३. ८ र एलपि ग्यासमा प्रति सिलिण्डर १९०. ३६ ले वृद्धि भएर आएको जनाएको छ ।
बिगत एक महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको र सो युद्धका कारण पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजारमूल्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसक्दा निगमलाई १५ दिन ( १६ मार्च देखि ३१ मार्च सम्म) मा ५ अर्व घाटा यथावत रहेको जानकारी दिएको छ ।
पछिल्लो पटक निगमले २५ मार्चमा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर १५ र डिजलमा प्रतिलिटर १५ मात्र समायोजन गरेको थियो । तथापि, १६ मार्चमा आएको खरिद मूल्य अनुसार समायोजन हुन नसक्दा प्रति लिटर पेट्रोलमा ४७. १२ प्रतिलिटर डिजेलमा १३३. ४५ तथा एलपि ग्यासमा ४१६. ३७ प्रति सिलिण्डर घाटा हुने निगमले जनाएको छ ।
यसरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य बृद्धि भइरहँदा र सोही अनुसार मूल्य समायोजन हुन नसक्दा पाक्षिक रुपमा निगमलाई १३ अर्व २१ करोड घाटा हुने देखिन्छ ।
इण्डियन आयल कर्पोरेशनबाट हालसम्म माग बमोजिमको परिमाणमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेतापनि तोकिएको समयमै भुक्तानी दिन नसक्दा आपूर्ति व्यवस्थापन प्रभावित हुने देखिएको समेत निगमले उल्लेख गरेको छ ।
साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै र निगमसँग रहेको मूल्य स्थिरिकरण कोषको समेत उपयोग गर्ने गरी निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकको निर्णानुसार आज राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १२४ ले र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौको लागि प्रति किलोलिटर अमेरिकी डलर ८१९ ले बढाईएको निगमले जानकारी दिएको छ । साथै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेकइभन प्वाइन्टमा विक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
साथै, अर्को मूल्य समायोजन नहुदाँ सम्मका लागि पेट्रोल, डिजेल-मट्टितेल र एलपि ग्यासको साबिक खुद्रा मूल्यलाई नै यथावत राखिएको निगमले जनाएको छ ।