निर्वाचन शान्तिपूर्ण सम्पन्न हुदा गणतन्त्रप्रतिको विश्वास अझ सुदृढ भयो- प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको बताएका छन्।
उनले जटिल राजनीतिक परिस्थितिका बीच घोषणा गरिएको निर्वाचन तमाम आशंकालाई चिर्दै सभ्य र शान्तिपूर्ण ढंगले सम्पन्न भएको उल्लेख गरेका हुन् । प्रचण्डले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उनले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले देशको प्रणालीलाई अझ सुदृढ बनाएको बताएका छन् । आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितका लागि सबै पक्ष मिलेर अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।