मतदाताको उत्साहले लोकतन्त्रप्रतिको विश्वास झल्कियो- सभापति थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभाको निर्वाचनमा देशभरका मतदाताले देखाएको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली जनताको निष्ठा र प्रतिबद्धता स्पष्ट भएको बताएका छन् ।
उनले निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति नेपाली काँग्रेसका तर्फबाट सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन् ।
थापाले मतदाताको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति जनताको गहिरो विश्वास झल्किएको मात्र होइन, राजनीतिक दल र आगामी सरकारलाई जनअपेक्षा अनुसार काम गर्न अझ जिम्मेवार बनाएको उल्लेख गरेका छन् ।
केही निर्वाचन क्षेत्रमा सामान्य घटना भए पनि समग्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै उनले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् ।
निर्वाचन सफल बनाउन खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायप्रति आभार व्यक्त गर्दै थापाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई पनि धन्यवाद दिएका छन्।