पुर्व सभामुखको रवि लामिछानेलाई जवाफ- जिते पनि सांसद नरहने अवस्थामा कुन नैतिकताले मत माग्दै हुनुहुन्छ ?
१२ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिरहेका बेला निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आरोपको कडा जवाफ फर्काएका छन् ।
घिमिरेले लामिछानेलाई जवाफ दिदै आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ? भन्दै प्रश्न गरेका हुन् ।
मंगलबार बिहान झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका क्रममा लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भन्दै पुर्व सभामुख घिमिरेले कुन मुख मत मागिरहेको बताएका थिए । घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवारले आफ्ना कार्यक्रम र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत आरोप र विभाजन फैलाउने शैली दीर्घकालीन राजनीति नहुने टिप्पणी गरे ।
संसदमा माइक काट्ने विषय सभामुखको व्यक्तिगत निर्णय नभई पूर्वनिर्धारित समयसीमा र नियमावलीअनुसार हुने स्पष्ट पार्दै घिमिरेले यस्तो सामान्य संसदीय अभ्यासबारे अनभिज्ञता देखाउनु उचित नहुने बताए । उनले सभामुख, उपसभामुख वा बैठक सञ्चालन गरिरहेका अन्य सदस्यको पालामा पनि समय सकिँदा माइक बन्द हुने गरेको उल्लेख गरे । घिमिरेले व्यक्तिगत आक्षेप र आरोपको राजनीति नगर्ने प्रतिबद्धता दोहोर्याए।
झापा- २ मा पूर्व सभामुख घिमिरेलाई रास्वपा उम्मेदवार इन्दिरा राना मगरले चुनौती दिएकी छन् ।