काठमाडौँ महानगरमा ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडाहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित बनाउन आवश्यक पर्ने तथ्य संकलन र स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको हो ।
जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ । जसको कोही छैन अर्थात सम्पत्ति छ तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । साथमा परिवारका सदस्य त छन् । तर, आफूजस्तै अशक्त छन् । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण थालिएको हो ।
फिल्डमा खटिने स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न तथा ज्येष्ठ नागरिकहरुको आवश्यकता र आवाज बुझ्न कार्यवाहक प्रमुख सुनिता डंगोल वडा नम्बर ३१ र २७ मा पुगेकी थिइन् । त्यस क्रममा अशक्त ज्येष्ठ नागरिक र परिवारसँग उनीहरुका चाहना, अपेक्षा र आवश्यकता सोधेकी थिइन् । ज्येष्ठ नागरिकको घरमा कार्यवाहक प्रमुखका साथमै गएका वडाध्यक्षहरु सरोज ढकाल र योगेश खड्गीले, हरेक नागरिकका ढोकामा पुगेर दुःख सुख सोध्ने कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।
फिल्डमा स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकको रक्तचाप, ग्लुकोज, ज्वरो, पल्सलगायत जाँच गर्ने महानगरले जानकारी दिएको छ । विगतमा गरिएका उपचार, प्रयोग गर्दै गरेका औषधि, प्रयोग गरेर छोडेका औषधिका बारेमा जानकारी लिन्छन् । खानापान, व्यायाम र अन्य दैनिक क्रियाकलापका बारेमा जानकारी लिने बताइएको छ ।
आवश्यकताका आधारमा तत्काल आधारभूत उपचार गर्न स्टेराइल गज, ब्यान्डेज, एन्टिसेफ्टिक व्यान्डेज, ट्रयाङगुलर व्यान्डेज, क्रेप व्यान्डेज, एन्टिसेफ्टिक वाइप, कपास, मेडिकल टेप, स्टेराइल ड्रेसिङ् सेट उनीहरुकै साथमा हुन्छ । यस्तै, पाराासिटामोल, आइबुप्रोफेन, एन्टिसेफ्टिक घोल, एन्टासिड ट्याब्लेट, ओरल रिहाइड्रेसन सोलुसन, पोलेको ठाउँमा लगाउने मलम, एलर्जीका लागि एन्टिहिस्टामिन चक्कीसहित औषधि पनि साथमै लिएर गएको महानगरले जनाएको छ ।