३ वटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले दिए राजीनामा

बुधबार, २३ पुष २०८२, ९:४४ PM
post-image

तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। बुधबार साँझ ९ बजे ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पदत्यागको घोषणा गरेका हुन्।

घिसिङले आफ्नो राजीनामा प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइसकेको जानकारी दिएका छन्। उनी ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारीमा थिए।

केही समयदेखि आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल’ पार्टी सञ्चालन गर्दै आएका घिसिङले पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका थिए। एकतापछि उनी रास्वपाको पहिलो वरीयताका उपसभापति बनेका हुन्।

उनको समूहबाट रास्वपाले १४ जनालाई समानुपातिकतर्फको उम्मेदवार सूचीमा समेटेको छ।

घिसिङ रास्वपाको उपसभापति बनेपछि गैरदलीय अन्तरिम सरकारमा उनको उपस्थितिलाई लिएर आलोचना चुलिएको थियो। सरकार कुनै एक दलको प्रभावमा परेको सन्देश गएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले समेत उनलाई सरकार छाड्न आग्रह गरेकी थिइन्।

तर पुस २२ गते आयोजित एक कार्यक्रममा घिसिङले आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएको दाबी गरेका थिए। रास्वपाको उपसभापति बन्ने सहमतिपत्रमा हस्ताक्षर भइसकेपछि पनि यस्तो अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भएको थियो।

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि गठन भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी भदौ ३० गते मन्त्री नियुक्त भएका थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}