जेनजी आन्दोलन हुनुमा रास्वपाले देखेका पाँच कारण

शुक्रबार, २१ कार्तिक २०८२, २:२ PM
post-image

२१ कात्तिक, चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ । शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा रास्वपाले जेनजी आन्दोलन हुनुमा पाँच प्रमुख कारण औल्याएका छन् ।  

जेनजी आन्दोलन बारे रास्वपाको धारणा:

पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणाम भदौ २३ गतेको जेन जी आन्दोलन र २४ गतेको विध्वंशात्मक घटनापछि राष्ट्रिय राजनीति फरक मोडमा आएको छ । तर, यो मोड अप्रत्याशित र आश्चर्यजनक दुबै होइन । किनकि, ढिलो-चाँडो यस्तो हुन सक्छ भन्ने आशंका थियो । हामीले पनि निरन्तर सचेत गराउदै आएका थियौं- संसदीय अंकगणितको बलमा शासकीय अहंकार, दम्भ र अर्कमण्यता बढ्दै गयो भने नागरिकमा चुँलिदै गएको आक्रोश विस्फोट हुनेछ । सभापति रवि लामिछाने ज्यूले कांग्रेस-एमालेको सहकार्यमा सरकार बने लगत्तै त्यसलाई 'अन्तिम भोज' को संज्ञा दिँदै यस्तो समीकरण पनि असफल हुँदाको नतिजा कल्पना गर्नुभएको छ ? भनेर प्रश्न गर्नुभएको थियो । सभापति रवि लामिछानेज्यूले भैरहवा कारागारबाट जारी गरेको अपीलमा 'तस्करले दिएका तिम्रा हातका घडी खोस्छन्' भन्नुभएको थियो । नभन्दै त्यो दिन आयो पनि । अब त्यही हातमा हात्कडी पनि लाग्छन् ।

लोकतान्त्रिक र संसदीय मूल्य मान्यता विपरीत संसदका तीन ठूला दलले सत्तालाई 'म्युजिकल चेयर' बनाएर लोकतन्त्रको आवरणमा 'दलतन्त्र' लादेपछि यस्ता दुर्घटना अवश्यम्भावी थियो र भयो पनि । अझ, दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले नागरिकका जायज आवाजसमेत नसुनी तिनको स्वतन्त्रता खुम्च्याएर लोकतन्त्रको आवरणमा दोहन, दलीयकरण र निरंकुशता लाद्ने जुन प्रपञ्च गन्यो, त्यहीबाट बढेको आक्रोश जेन-जीको नाममा विस्फोट भएको हो । जुन सुकै शक्ति वा समूहले गैरदलीय व्यानरमा आन्दोलनको आह्वान र अगुवाई गरेको भए पनि त्यसमा आमनागरिकको असन्तोष प्रस्फुट हुने परिस्थिति बनिसकेको थियो ।

पहिलो

२०६२/०६३ को राजनीतिक परिवर्तनले गणतन्त्र स्थापित गरेपछि कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक-पटक सरकारको नेतृत्व गरे । तर, उनीहरूबीचको कटुतापूर्ण प्रतिस्पर्धा, अस्वाभाविक मिलन, अविश्वासको राजनीति र सत्ता स्वार्थका कारण सरकारहरू स्थिर हुन सकेनन् । बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत स्थिरता भएन र विकास निर्माणमा बाधा पुग्यो । जनताको अपेक्षा अधुरै रहे । सत्ताको कुरा भए । सरकारको कुरा गरिए । तर, जनताको कुरै भएन ।

दोस्रो:  

पुराना दलहरुले सरकारको नेतृत्व गर्दाका ठूला-ठूला भ्रष्टाचार काण्ड बाहिर आए । तर, प्रभावकारी छानबिन भएन । संलग्नलाई कारबाही नहुनु वा राजनीतिक प्रभावमा परेर उन्मुक्ति पाउनुले दण्डहीनतालाई प्रश्रय दियो । जनता चरम भ्रष्टाचारका श्रृंखला र तिनमा राजनीतिक संरक्षणका कारण आजित भइसकेका थिए ।

तेस्रो: 

पुराना दलहरूको नेतृत्वमा रहेका सरकारले सुशासन कायम र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकेनन् । राज्यका सबै संरचना र निकायमा ढिलासुस्ती, अनियमितता र बिचौलियाको बिगबिगी कायम रह्यो । आधारभूत सेवा सुविधा प्राप्त गर्न पनि राजनीतिक भनसुन गर्नुपर्ने वा घुस नै खुवाउनु पर्ने परिस्थितिले जनतालाई आक्रोशित बनाउँदै ल्याएको थियो ।

चौथो: 

पुराना दलहरुले परम्परागत राजनीतिक शैलीलाई नै निरन्तरता दिए । जहाँ गुटबन्दी, नातावाद, कृपावाद हावी थियो । नयाँ विचार र नयाँ पुस्ताका लागि ति पार्टीभित्र खासै स्थान बन्न सकेन । जनताले पुरानै अनुहार, पुरानै भाषण र पुरानै शैलीको राजनीतिबाट देशले गति लिन नसक्ने महसुस गरे । उनीहरूले आफूलाई समेट्ने र आफ्ना सरोकारलाई सम्बोधन गर्ने कुनै ठाउँ ति दलहरूमा पाएनन् । र, नयाँ वैकल्पिक शक्तिको खोजीमा लागे ।

पाँचौं:

दशकौंको शासनकालमा पनि पुराना दल नेतृत्वको सरकारले देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सकेनन् । परिणामतः अध्ययन सकेका लाखौं युवा कामको खोजीमा विदेशिन बाध्य भए। युवा पुस्ताले आफ्ना अग्रज र समकालीनले पढाइ सकेर पनि देशमा भविष्य नदेखेर विदेशिएको देखे । शासकहरूले आफ्नो भविष्य बर्बाद पारे भन्ने तीव्र असन्तुष्टिले उनीहरू परिवर्तनको हिस्सा मात्र होइन निर्णायक शक्ति नै बन्न अगाडि सर्दा जेन जी आन्दोलन भयो ।

समग्रमा, अन्य विभिन्न उत्तोलकजन्य सहायक सन्दर्भ होलान् । तर, जेन जी आन्दोलनको मुख्य कारक पुराना दलका हर्कत र जनविरोधी गतिविधि हुन् र आधार चाहिँ तिनैमार्फत सिर्जित दलीय सिण्डिकेट, राज्य दोहन र भ्रष्टाचार / कुशासन नै हो । त्यत्रो अकल्पनीय घटनापछि पनि तत्कालीन सरकार नेतृत्व दलले सत्य स्वीकार्नुको सट्टा आन्दोलनको भावना र म्यान्डेट बाहिर गएर गतिविधि गरिरहेको छ । केही सहायक कारण / घटनालाई समातेर वा अतिरञ्जित गरेर केही दल / नेता आन्दोलनको खास कारण र सत्यको विषयान्तर गर्न उद्दत छन् । यो प्रवृत्तिको निरन्तरता आगामी दिनका लागि घातक हुन सक्छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}