फोर्ड भारतमा फर्कियो, तमिलनाडुमा पुन: उत्पादन शुरु गर्न सम्झौता

बुधबार, १९ कार्तिक २०८२, १०:२२ AM
post-image

१९ कात्तिक, काठमाडौं । अमेरिकन मोटर कम्पनी फोर्ड पुनः भारत फर्किने भएको छ। कम्पनीले भारतमा फेरि उत्पादन सुरु गर्ने योजना सार्वजनिक गरेको छ। यसका लागि फोर्डले तमिलनाडु सरकारसँग सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर गर्दै औपचारिक घोषणा गरेको हो।

यो निर्णय अमेरिकी उत्पादनलाई प्राथमिकता दिने ट्रम्प प्रशासनको नीतिको विपरीत रहेको बताइएको छ। फोर्डले चेन्नईस्थित मरैमलाई नगर प्लान्टमा ३ हजार २५० करोड भारु लगानी गर्नेछ। यस लगानीबाट कम्पनीले नयाँ पुस्ताका इन्जिनहरू उत्पादन र निर्यात गर्ने योजना बनाएको छ। उत्पादन २०२९ मा सुरु हुने र त्यसको साइट तयारी यस वर्षकै अन्त्यदेखि सुरु हुने फोर्डले जनाएको छ। यसले ६०० भन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।

एमओयूमा हस्ताक्षर कार्यक्रम मुख्यमन्त्री एमके स्टालिनउद्योग तथा लगानी प्रवर्द्धन मन्त्री टीआरबी राजा उपस्थित थिए। फोर्डले सन् २०२४ मा तमिलनाडु सरकारलाई मरैमलाई नगर प्लान्ट पुनः सञ्चालन गर्ने इच्छा व्यक्त गर्दै आशय पत्र पठाएको थियो।

स्मरणीय छ, सन् २०२१ मा कम बिक्री र बढ्दो घाटाका कारण फोर्डले भारतमा आफ्ना सञ्चालनहरू बन्द गरेको थियो। त्यसपछि कम्पनीले आफ्नो प्रिमियम कार लाइनअप पुनः ल्याउने योजना बनाएको भए पनि, त्यो योजना कार्यान्वयन हुन सकेन।

हालै फोर्ड एभरेस्ट भारतीय सडकमा परीक्षण क्रममा देखिएपछि यसको पुनःप्रस्तुति हुने हल्ला चलेको थियो, तर त्यो केवल अनुमानमै सीमित रह्यो।

कम्पनीले मरैमलाई प्लान्टबाट वार्षिक २ लाख ३५ हजार इन्जिन उत्पादन गर्ने योजना बनाएको छ, जुन केवल निर्यातका लागि हुने बताइएको छ। इन्जिनको प्रकार र निर्यात गन्तव्य भने पछि घोषणा गरिनेछ। यस लगानीबाट ६०० प्रत्यक्ष रोजगारी र सयौँ अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। तमिलनाडु पहिले नै हुन्डाई, रेनो र बीएमडब्ल्यू जस्ता प्रमुख निर्माता कम्पनीहरूको केन्द्रका रूपमा स्थापित छ।

फोर्डको विश्लेषण अनुसार, २०२९ पछि उत्पादन सुरु भएपछि भारत कम्पनीको विश्वव्यापी आपूर्ति सञ्जालको बलियो केन्द्र बन्नेछ। हाल फोर्डको तमिलनाडुस्थित व्यापारिक सञ्चालनमा करिब १२ हजार कर्मचारी कार्यरत छन्। यो लगानीले भारतलाई विश्वव्यापी उत्पादन हबको रूपमा उभ्याउने र स्थानीय रोजगारलाई बढावा दिने अपेक्षा गरिएको छ।

फोर्डले १९९५ मा महिन्द्रासँगको साझेदारीमार्फत भारतमा प्रवेश गरेको थियो, जसलाई त्यतिबेला महिन्द्रा फोर्ड इन्डिया लिमिटेड भनिन्थ्यो। २०१८ सम्म कम्पनीले भारतमा १० लाखभन्दा बढी ग्राहक बनाएको थियो। फोर्डले भारतमा फिगो, एस्पायर, इकोस्पोर्ट र एन्डेभर जस्ता मोडेल बिक्री गरेको थियो। कम्पनीका स्यानन्द (गुजरात)मरैमलाई (चेन्नई) प्लान्टहरूमा करिब ४ हजार कर्मचारी कार्यरत थिए, र देशभर यसको कुल कर्मचारी संख्या ११ हजारभन्दा बढी थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}