विद्युत खपत बढाउन माग पक्ष सुधार उच्च प्राथमिकतामा- मन्त्री घिसिङ
                काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले देशभित्र उत्पादित विद्युतको खपत बढाउन माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले विद्युत खपत विस्तारका लागि विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगलाई प्रोत्साहन गरिँदै आएको जानकारी दिए ।
उनका अनुसार, “वर्षायाममा अतिरिक्त विद्युत भारत र बंगलादेशमा निर्यात भइरहेको भए पनि सरकारको मुख्य प्राथमिकता देशभित्रै विद्युत खपत बढाउनु हो।” उनले चार्जिङ पूर्वाधार विस्तार, खाना पकाउन प्रयोग हुने काठदाउरा र ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने कार्यमार्फत माग वृद्धि गर्ने योजना अघि बढाइएको बताए ।
मन्त्री घिसिङले वायु ऊर्जामा निजी लगानी भित्र्याउन विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गर्न सरकार तयार रहेको उल्लेख गर्दै सौर्य ऊर्जालाई ग्रिडमा आवद्ध गर्ने र भण्डारण प्रणाली विकास गर्ने नीति अवलम्बन गरिएको पनि जानकारी दिए ।
वैकल्पिक ऊर्जा प्रवर्द्धनमा दातृ निकायहरूको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उनले केन्द्रको कार्य क्षेत्र थप विस्तार गरिने बताए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले स्वच्छ ऊर्जा प्रवर्द्धन र दुर्गम क्षेत्रमा विद्युतीकरणमा केन्द्रको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
त्यसैगरी, नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले दिगो ऊर्जा विकास, जीविकोपार्जन सुधार र न्यून कार्बन ऊर्जा रूपान्तरणमा सहयोग जारी राख्ने जर्मनीको प्रतिबद्धता व्यक्त गरे । जर्मनीले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक र वित्तीय सहयोग प्रदान गर्दै आएको छ ।