धमाधम कर्मचारी हटाउदै विश्वका ठूला प्राविधिक कम्पनी
                १८ कात्तिक, काठमाडौं । सन् २०२५ मा विश्वका ठूला प्राविधिक कम्पनीहरूले ठूलो संख्यामा कर्मचारी कटौती गर्न थालेका छन् । वेबसाइट Layoffs.fyi का अनुसार, यस वर्षमात्रै विश्वभरका २१८ कम्पनीहरूले एक लाख १२ हजारभन्दा बढी कर्मचारीहरूलाई रोजगारीबाट हटाइसकेका छन् ।
टिसीएस, माइक्रोसफ्ट, अमेजन, इन्टेल जस्ता कम्पनीहरू कर्मचारी कटौतीमा अग्रणी देखिएका छन् । कम्पनीहरूले एआई प्रविधिको विस्तार, सुस्त अर्थतन्त्र र खर्च घटाउने रणनीतिको कारण यो कदम चालेको बताएका छन् ।
चिप उत्पादक इन्टेल ले आफ्नो विश्वव्यापी कार्यबलको करिब २२ प्रतिशत अर्थात् झन्डै २४ हजार पद कटौती गर्ने निर्णय गरेको छ । यसले अमेरिका, जर्मनी, कोस्टा रिका र पोल्याण्डमा ठूलो असर पार्नेछ । कम्पनीले पीसीको घट्दो माग र एआई प्रतिस्पर्धामा पछि परेकै कारण यस्तो निर्णय गरेको हो ।
भारतको सबैभन्दा ठूलो आइटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज (TCS) ले सेप्टेम्बर २०२५ भित्र १९ हजार ७५५ कर्मचारी हटाउने घोषणा गरेको छ । कम्पनीले स्वचालन र कृत्रिम बुद्धिमत्तामा (AI) केन्द्रित हुँदै मध्यम र वरिष्ठ तहका पदहरू घटाइरहेको बताएको छ । यसपछि कम्पनीको कर्मचारी संख्या ६ लाखभन्दा तल झर्नेछ ।
विश्वकै ठूला ई–कमर्स कम्पनी अमेजन ले पनि १४ हजार कर्पोरेट पद हटाउने घोषणा गरेको छ — जुन कम्पनीको इतिहासमै सबैभन्दा ठूलो कटौतीमध्ये एक हो । सीईओ एन्डी ज्यासीका अनुसार, कम्पनी ‘विश्वकै सबैभन्दा ठूलो स्टार्टअप’ जस्तै सञ्चालन भइरहेकाले व्यवस्थापन तह घटाइँदैछ । मिडिया रिपोर्टअनुसार यो संख्या ३० हजारसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
माइक्रोसफ्ट ले एआई र क्लाउड लगानीमा जोड दिन ९ हजार कर्मचारी हटाउने निर्णय गरेको छ, जुन कुल कार्यबलको करिब ४ प्रतिशत हो । त्यस्तै गुगल ले क्लाउड र एन्ड्रोइड विभागका सयौँ कर्मचारीलाई विदा गरेको छ भने मेटा (फेसबुक) ले एआई टोलीबाट ६०० कर्मचारी हटाएर साना टोलीहरूलाई बढी जिम्मेवारी दिने नीति लिएको छ ।
सेल्सफोर्स ले पनि ४ हजार पद कटौती गरेको छ, जसका कारण कम्पनीको एआई प्रणाली अहिले आधाभन्दा बढी ग्राहक च्याटहरू स्वचालित रूपमा ह्यान्डल गर्न थालेको बताइएको छ ।
त्यस्तै युपीएस (UPS) ले एकै पटक ४८ हजार कर्मचारीलाई हटाएको छ, जसमा ३४ हजार सञ्चालन र १४ हजार व्यवस्थापन तहका कर्मचारी छन् । कम्पनीले अमेरिकाभित्रका ९३ सुविधाहरू बन्द गर्दै ४०० एकाइ स्वचालित बनाउने योजना अघि सारेको छ ।
कर्मचारी कटौती गर्ने अन्य कम्पनीहरूमा एक्सेन्चर (११ हजार), सिस्को (४ हजार २५०), फोर्ड (१३ हजार), पीडब्लुसी (PwC) (५ हजार ६००) र प्यारामाउन्ट (२ हजार) रहेका छन् । यी सबै कम्पनीहरूले आफ्नो व्यवसायलाई एआई–केन्द्रित र लागत–प्रभावी मोडेलतर्फ लैजाने प्रयासस्वरूप यो कदम चालेका हुन् ।