अर्थमन्त्री खनालसँग कोरिया गणतन्त्रका राजदूत यङको शिष्टाचार भेट
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङबीच सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा अर्थमन्त्री खनालले नेपाल–कोरिया बीचको दीर्घकालीन मित्रता र द्विपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारबाट प्राप्त हुँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले कोरियाको सहयोगमा सञ्चालन भइरहेका परियोजनाहरू सन्तोषजनक अवस्थामा रहेको उल्लेख गर्दै दुवै देशबीचको आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए ।
राजदूत पार्कले आफ्नो पक्षबाट कोरिया सरकारको विकास सहयोग एजेन्सी कोइका (KOICA) र नेपाल सरकारबीचको साझेदारीले यस वर्ष ३० वर्ष पूरा गरेको स्मरण गर्दै, सो अवधिमा भएको सफल सहकार्यप्रति खुशी व्यक्त गरे । उनले कोरियन लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने र नेपाली उत्पादनको प्रवर्द्धनका लागि आवश्यक सहयोग पुर्याउने विषयमा जोड दिए ।
त्यस क्रममा राजदूतले कोरिया सरकारले नेपाली कामदारलाई रोजगारीका लागि सहज पहुँच होस् भनेर छुट्टै भिसा सेन्टर स्थापना गर्ने तयारी भइरहेको जानकारी समेत गराए । साथै, ईपिएस (EPS) प्रणालीअन्तर्गत कोरिया गई फर्किएका नेपाली कामदारको उद्यमशीलता प्रवर्द्धनका लागि कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाइरहेको र यसमा नेपाल सरकारको आवश्यक सहजीकरण अपेक्षित रहेको पनि बताए ।