खाली पानामा हस्ताक्षर गरेर फर्किएँ, विषय के हो थाहा छैन" — एमाले नेताहरूको प्रतिक्रिया

मंगलबार, ३ भदौ २०८२, ७:१६ PM
post-image

काठमाडौं, भदौ ३ — उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोगको तयारी भइरहेको चर्चा चलिरहेका बेला नेकपा एमालेका सांसदहरूले ‘खाली पानामा’ हस्ताक्षर गरेको खुलासा गरेका छन्। पार्टीको संसदीय दलको कार्यालयमा हस्ताक्षर संकलनका लागि बोलाइएका सांसदहरूले विषयबारे स्पष्ट जानकारी नपाएको जनाएका छन्।

सांसदहरू कार्यालयबाट फर्किने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै अधिकांशले आफूहरूले हस्ताक्षर त गरे पनि त्यसको विषयवस्तुबारे जानकारी नपाएको बताएका हुन्। पत्रकारले उपसभामुखविरुद्ध महाअभियोगको प्रस्तावमा हस्ताक्षर गर्न बोलाइएको हो भन्ने प्रश्नमा, केही सांसदहरूले “खाली पानामा हस्ताक्षर गरेर फर्किएको” प्रतिक्रिया दिएका छन्।

नेकपा एमालेका नेता योगेश भट्टराईले भने यस्तो अभ्यास वि.सं. २०४८ सालदेखि चल्दै आएको बताउँदै, पार्टीले ह्वीप जारी गरेपछि सांसदहरूबाट हस्ताक्षर संकलन गरिने र विषय पछि तय गरिने परम्परा रहेको स्पष्ट पारे। उनले यसलाई संसदीय प्रक्रियाको नियमित अभ्यासको रूपमा व्याख्या गरे।

तर एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने आफूलाई उपसभामुखविरुद्ध महाअभियोगको प्रस्तावबारे कुनै जानकारी नभएको र सो विषयमा हस्ताक्षर संकलन पनि नभएको जानकारी दिएका छन्।

उपसभामुख रानामगरविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने तयारीमा कांग्रेस र एमाले सक्रिय छन् भने आवश्यक संख्या जुटाउने प्रयास भइरहेको बताइएको छ। तर, यसबारे औपचारिक निर्णय वा प्रस्ताव सार्वजनिक भइसकेको छैन।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}