भन्सार छलीमा मधेस प्रहरीको कारबाहीः १ अर्ब २५ करोड राजश्व संकलन
काठमाडौं, ११ साउन । मधेस प्रदेशमा परम्परागत अपराध घट्दै गएका छन्, तर नयाँ स्वरूपका अपराधको वृद्धि भने रोकिएको छैन।
मधेस प्रदेश प्रहरी कार्यालयको ताजा समीक्षाले शान्ति सुरक्षाको अवस्था सामान्य देखिए पनि लागुऔषध कारोबार, आत्महत्या, सामाजिक अपराध बढेका छन्।
प्रहरीको विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशका आठ जिल्लामा १२ हजार ५६५ मुद्दा दर्ता भए। तीमध्ये लागुऔषधसँग सम्बन्धित मुद्दा मात्रै ४५८ छन्। त्यो कुल मुद्दाको झण्डै ४ प्रतिशत हो।
प्रहरीले भन्सार छली नियन्त्रण अभियानमा सफलता पाउँदै आएको छ। १ अर्ब ३५ करोड ९७ लाख २७ हजार ९२३ रुपैयाँ बराबरको सामान बरामद भएको छ।
झन् गम्भीर कुरा त यो हो कि यो एक वर्षमा प्रहरीले २२ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको लागुऔषध बरामद गरेको छ। जसमा २५ हजार ४५८ किलो गाँजा, ४०८ किलो चरेस, ३ किलो ब्राउन सुगर, ४६ किलो अफिम र झण्डै साढे तीन लाख विभिन्न खाले ट्याब्लेट, इन्जेक्सन र बोतल बरामद भएको छ। ‘यसले संकेत गर्छ कि समस्या गहिरिँदो छ, हामी नियन्त्रण प्रयास गरिरहेका छौं,’ कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी भन्छन्।
तर, लागुऔषध मात्र होइन, आत्महत्याका घटनाले पनि प्रहरीलाई गम्भीर सोचमा पारेको छ। आर्थिक वर्ष २०८०÷८१ मा प्रदेशमा ७२८ जनाले आत्महत्या गरेका छन्, जसमा पुरुषको संख्या धेरै छ। पछिल्लो समय घरेलु हिंसा, बेरोजगारी, मानसिक तनाव, वैदेशिक रोजगारको असफलता, प्रेम सम्बन्धको असफलता र सामाजिक विभाजन जस्ता कारणले आत्महत्या दरमा वृद्धि भएको प्रहरीको निष्कर्ष छ।
मधेसमा ९८ वटा कर्तव्य ज्यानमुद्दा दर्ता भएकोमा ८१ वटा अनुसन्धान भई फर्स्योट भएका छन्। फरार अभियुक्त ५ हजार ८११ जना पक्राउ परेका छन्।
प्रहरीले साना १६ र ठूला १९ वटा हतियार बरामद गरेको छ। ट्राफिक कारबाहीबाट १८ करोड ३७ लाख ९१ हजार ३५८ रुपैयाँ राजस्व संकलन भएको छ।
दुर्घटनाका घटनामा पनि कमी देखिएको छैन। ज्यान जाने सडक दुर्घटना २८९ वटा भएका छन्, जसमा ३२१ जनाको मृत्यु भएको छ। ‘सवारी नियम पालना नगर्नु, ट्राफिक चेक कमजोर हुनु र सवारी साधनको अन्धाधुन्ध प्रयोग नै दुर्घटनाको कारण हो,’ चतुर्वेदी भन्छन्।
तर, प्रदेश प्रहरीको मुख्य गुनासो भनेको प्रहरीको प्रयास मात्रै पर्याप्त छैन। लागुऔषध नियन्त्रण र आत्महत्या न्यूनीकरणका लागि अन्य सरोकारवाला निकाय, व्यक्ति र संस्थाले पनि साझा जिम्मेवारी लिनुपर्ने प्रहरीको सन्देश छ।
प्रदेशका प्रहरी प्रमुख चतुर्वेदी भन्छन्, ‘समस्या परम्परागतभन्दा फरक ढंगले विकास भइरहेको छ। तसर्थ, समग्र रणनीति आवश्यक छ। केवल अपराध नियन्त्रण होइन, सामाजिक पुनर्संरचना पनि।’
विपदमा धेरैले ज्यान नगुमाए पनि तराईमा पोखरीमा डुबेर, करेन्ट लागेर मृत्यु हुने घटना बढिरहेका छन्। माछापोखरी जथाभावी खन्ने र तारबार नलगाउने गरेका कारण पौडी खेल्न जाँदा बालबालिकाहरूको मृत्यु हुने गरेको छ।
तराईमा उक्त आर्थिक वर्षमा विपद सम्बन्धी घटनाबाट ३८० जना, पानीमा डुबेर २१५ जना, करेन्ट लागेर १३८ जना र आगलागीबाट १९ जनाको मृत्यु भएको छ।
तराईमा राजनीतिक द्वन्द्व र त्यसबाट सिर्जित, साम्प्रदायिक दंगाजस्ता घटना हुने गरेका छन्। समयमै सतर्कता अपनाएका कारण न्यूनीकरण भए पनि कुनै बेला भड्किन सक्ने अवस्था रहेको चतुर्वेदी बताउँछन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.