बुढानीलकण्ठ नगरपालिकाको ३ अर्ब ४५ करोडको बजेट सार्वजनिक
काठमाडौं, १० असार । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ४५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगर उपप्रमुख अनिता लामाले नगरसभाको १६औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै “स्वच्छ, शान्त, समृद्ध र पर्यटकीय नगर बुढानीलकण्ठ” निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।
बजेटमा सामाजिक विकास, पूर्वाधार निर्माण, आर्थिक समृद्धि, सुशासन, सूचना प्रविधि, विपद् व्यवस्थापन र समावेशी सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ।
सामाजिक विकासतर्फ ३४ करोड ८६ लाख ८० हजार, आर्थिक विकासतर्फ ९ करोड ९२ लाख, भौतिक पूर्वाधारमा १ अर्ब ४० करोड ९३ लाख, सुशासन तथा संस्थागत विकासमा ४५ करोड ७९ लाख र विपद् व्यवस्थापनमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
स्वास्थ्य क्षेत्रमा नगर अस्पताललाई २४ घण्टा सेवा दिने गरी आधुनिकीकरण गरिनेछ। अस्पतालको सेवा विस्तार, उपकरण खरिद, विशेषज्ञ सेवा, नागरिक आरोग्य केन्द्र सुदृढीकरण, पोषण भत्ता, महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन, मानसिक स्वास्थ्य, किशोर स्वास्थ्य, खोप तथा औषधि आपूर्ति, र जैविक प्रतिरोधात्मक सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि १२ करोड ८५ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार, शिक्षक व्यवस्थापन, पुस्तकालय स्थापना, दिवा खाजा कार्यक्रम, अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति, प्राविधिक शिक्षा, अटिजम भएका विद्यार्थीका लागि विशेष कार्यक्रम, र स्थानीय पाठ्यक्रम विकास जस्ता कार्यक्रम समावेश छन्। शिक्षा क्षेत्रमा ९ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
युवा तथा खेलकुद क्षेत्रमा मेयर कप, खेल मैदान निर्माण, युवा उद्यमशीलता, सीप विकास तालिम, मानसिक विकास कार्यक्रम, र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई प्रोत्साहन गरिनेछ। यसका लागि ६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।
पर्यटन प्रवर्द्धनका लागि स्ट्रीट फेस्टिभल, हाइकिङ, साइकलिङ, डिजिटल बोर्ड, पर्यटन प्रचार सामग्री, डाँडागाउँमा सनसेट भिउ पोइन्ट निर्माण, शिवपुरी निकुञ्जसँग समन्वय, र पर्यटन व्यवसायीहरूसँग सहकार्य गरिनेछ। औद्योगिक ग्राम र इनक्युबेसन सेन्टर निर्माणमा १ करोड ५० लाख विनियोजन गरिएको छ। पर्यटन र उद्योग क्षेत्रका लागि कुल २ करोड ६३ लाख रुपैयाँ छुट्याइएको छ।
फोहोरमैला व्यवस्थापन, हरियाली प्रवर्द्धन, वातावरणीय सचेतना, जलवायु परिवर्तन अनुकूलन, र जैविक विविधता संरक्षणका लागि ४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ। नगर सरसफाइ तथा सुन्दरता कार्यक्रम, ट्रि-गार्ड निर्माण, सार्वजनिक पार्क सौन्दर्यकरण, र सचेत बुढानीलकण्ठ अभियान सञ्चालन गरिनेछ।
भौतिक पूर्वाधारतर्फ सडक, ढल, खानेपानी, पार्क, सिसिटिभी, सडक बत्ती, बसपार्क, खेलमैदान, सार्वजनिक भवन, फोहोरमैला व्यवस्थापन संरचना, र धार्मिक स्थल व्यवस्थापनमा १ अर्ब ४० करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ। “उज्यालो नगर कार्यक्रम” अन्तर्गत सडक बत्ती र “मेयर सुरक्षित नगर” अन्तर्गत सिसिटिभी जडान गरिनेछ।
राजस्व प्रणाली सुधार, करदातालाई प्रोत्साहन, अनलाइन भुक्तानी प्रणाली, र कर शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। प्रशासनिक कार्यसञ्चालनका लागि ४० करोड ९० लाख, जनशक्ति व्यवस्थापनमा २ करोड ४० लाख र सूचना प्रविधिमा २ करोड ४९ लाख विनियोजन गरिएको छ।
नगर उपप्रमुख अनिता लामाले बजेट प्रस्तुत गर्दै भनिन्, ‘यो बजेट नगरवासीको आकांक्षा, आवश्यकता र समृद्धिको दिशामा स्पष्ट मार्गचित्र हो।’ उनले सबै सरोकारवालाको सहकार्यबाट मात्र ‘आहा बुढानीलकण्ठ’ को सपना साकार हुने विश्वास व्यक्त गरिन्।
बजेटले बुढानीलकण्ठलाई समावेशी, उत्तरदायी र नवप्रवर्तनमैत्री स्थानीय सरकारको नमूना बनाउने अपेक्षा गरिएको छ।
नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा बसेको नगरसभामा नगर प्रवक्ता नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको विशेष उपस्थिति रहेको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.